काठमाडौँ — हिमालयन चेस एकेडेमीले चेसमा नयाँ प्रयोगको रूपमा नेपालमा पहिलोपल्ट हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप गर्ने भएको छ । स्पर्धा चैत १ गते हुनेछ ।
एकेडेमीले आफ्नो वार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियनसिप आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिसा खम्बूले बताइन् । पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्ड मास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरुप फ्रिस्टाइल चेस सुरु गरेका थिए । यसैको प्रतियोगिता आयोजना गर्दै हिमालयन चेस एकेडेमीले नेपालमा फ्रिस्टाइल चेसलाई भित्र्याउने पहल गरेको हो ।
च्याम्पियनसिपका चिफ आर्बिटर यासिर खम्बूका अनुसार फ्रिस्टाइल चेस लिगकम नकआउटको आधारमा हुनेछ । सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेल थापाथलीस्थित चेस हलमा हुनेछ । समूह विजेता चार खेलाडी फाइनलमा प्रवेश गर्नेछन् । उनीहरूले नकआउटको आधारमा चैत १ गते हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
एकेडेमीले चैत १ मा एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दै छ । फ्रिस्टाइल च्याम्पियनसिपसागै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्नेछ ।
दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपैयाँ रहेको छ । फ्रिस्टाइल विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय र सेमिफाइनलमा पराजितले जनही ६ हजार ४ सय पाउनेछन् ।
१६ स्पर्धा समावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्नेछन् । एकेडेमीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो ।
