पाँचथर — सशस्त्र प्रहरी बलको एपीएफ क्लब इलाममा जारी दोस्रो आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १–० गोलले हराॅउदै एपीएफ उपाधि दाबेदार बनेको हो ।
इलाम बजारको ठुलो टुँडिखेलमा बिहीबार सेमिफाइनलमा रश्मिकुमारी घिसिङको गोल नै एपीएफको जितमा निर्णायक बन्यो । उनले खेलको ३५ औं मिनेटमा गोल गरेकी थिइन् ।
त्यसपछि पटक–पटक अवसर पाए पनि पुलिसले गोल फर्काउन नसक्दा टोलीको यात्रा टुंगियो । उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी अनिता बस्नेत प्लेयर अफ द म्याच भइन् । उनले ५ हजार पुरस्कार पाइन् ।
अघिल्लो दिन आयोजक ओएसिस क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेको छ ।
एपीएफ र आर्मीबीच शनिबार फाइनल हुनेछ । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी जित्नेछन् ।
प्रीति र अनितासँग फोटो खिच्नेको भीड
महिला गोल्डकप खेल्न इलाम आइपुगेकी प्रीति राईसँग बिहीबार तस्बिर खिच्ने दर्शकको भीड नै लाग्यो । खेलअघि र मध्यान्तरको विश्राममा पर्खिरहेका समर्थकहरू मैदान छिरेर तँछाडमछाड गर्दै तस्बिर खिच्न भ्याए । सेल्फी खिच्नेको भीड व्यवस्थापन गर्न स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो ।
प्रीतिसँगै एपीएफ कप्तान अनिता बस्नेतसँग तस्बिर खिचाउन पनि त्यत्तिकै बाक्लो भीड थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरू उत्कृष्ट प्रदर्शन गरेका उनीहरूलाई घरेलु मैदानमा देख्न पाउँदा दर्शक उत्साहित देखिन्थे । ‘टेलिभिजनको पर्दामा मात्रै देखेका प्रीति र अनिताको खेल हेर्न एक घण्टा धाएर टुडिखेल आएँ, दुइ घण्टा कुर्दा बल्ल सेल्फी खिच्ने मौका मिल्यो,’ इलाम–५ की जमुना राईले सुनाइन् ।
पर्खिएरै भए पनि उनीहरूसँग पालैपालो तस्बिर खिच्न सफल भएको उनको भनाइ थियो ।
