विराटनगर — घरेलु टोली मोरङ ११ लाई बुधबार १–० ले पराजित गर्दै विभागीय टोली नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा मोरङलाई निराश बनाउँदै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
आर्मीका लागि निरज चौधरीले गोल गरे । उनले ३७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पथेमन गलेले मध्यभागबाट गरेको क्रस पासलाई निरजले उत्कृष्ट गोल गर्दै जाली चुमाएका थिए ।
पहिलो गोलपछि दबाबमा परेको मोरङले बराबरी बनाउन गरेको धेरै प्रयत्न खेर गयो । दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको मोरङले गोल भने फर्काउन सकेन ।
आर्मीका लागि खेलको पहिलो हाफ निकै चुनौतीपूर्ण थियो । केही उत्कृष्ट अवसर सिर्जना भएतापनि त्यो अवसरलाई सदुपयोग गर्न आर्मी चुकेको थियो । ३३ औं मिनेटमा निरज चौधरीको कडा प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरे । लगतै ३४ औं मिनेटमा सुजन चौधरीको कडा प्रहार फ्रेममा पर्न सकेन । ५० औं मिनेटमा दिनेश हेमजनको प्रहार मोरङका गोलकिपरले निस्तेज पारेका थिए ।
खेलको ५३ औं मिनेटमा भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेस कुथुले बचाए । अन्य केही राम्रा अवसरमा गोल गर्न चुकेको मोरङले घरेलु दर्शकको भरपुर समर्थन पाएपनि निराश हुनु पर्यो । ७० औं मिनेटमा दोर्जे तामाङको प्रहार पनि बाहिरिएको थियो ।
प्रतियोगितामा 'प्लेयर अफ द म्याच' आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । बिहीबार दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लब बीच हुनेछ ।
