लुम्बिनी — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सम्पूर्ण खेल लुम्बिनी प्रदेशका तीन रंगशालामा आयोजना हुने भएपछि यहाँका क्रिकेटप्रेमी उत्साही देखिएका छन् । खेल सञ्चालनका लागि रंगशालामा आवश्यक तयारी चलिरहेकाले क्रिकेटप्रेमीमा बेग्लै उत्साह थपिएको छ ।
रूपन्देहीका दुई र दाङको एउटा रंगशालामा प्रमुख घरेलु प्रतियोगिता फागुन २५ देखि आयोजना हुँदै छ । यसले प्रदेशलाई क्रिकेट हबमा चिनाउन मदत पुग्ने सरोकारवालाको विश्वास छ । नेपाली क्रिकेटका लागि थुप्रै खेलाडी उत्पादन गरेको भैरहवास्थित सिद्धार्थ गौतमबुद्ध क्रिकेट रंगशालामा पीएम कप तयारी अन्तिम चरणमा छ । रंगशालामा आफूहरूले खेल्न पाउने भएपछि स्थानीय क्रिकेटरहरू खुसी छन् ।
क्रिकेटर देव खनालले प्रदेशमा प्रतियोगिता आयोजना हुनुले यहाँको खेलमात्र नभई आर्थिक क्षेत्रसमेत चलायमान बनाउने बताए । क्रिकेट खेल्न रुचाउने नयाँ पुस्ताले घरेलु मैदानमा बसेर राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको प्रदर्शन हेरेर धेरै कुरा सिक्न पाउने उनको भनाइ थियो ।
अर्कोतर्फ प्रतियोगिता आयोजनाका लागि काठमाडौंको विकल्प रूपन्देही बनेकामा हर्ष लागेको देवले सुनाए । ‘एउटै मैदानमा खेल्नुभन्दा फरक–फरक स्थानमा गएर प्रदर्शन गर्दा खेलाडीले त्यहाँको प्राकृतिक, भौगोलिक बनावटसँग परिचित हुने मौका पाउँछन्,’ उनले भने, ‘आफूलाई फरक दर्शकमाझ परिचित गराउने अवसर हो ।’
गत वर्ष पनि पीएम कपका केही खेल सिद्धार्थ रंगशालामा भएको थियो । यसपालि झन ठूलो अवसर प्राप्त गर्न सफल भएको रूपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए । ‘गत वर्षको अनुभवले हामीलाई धेरै सिकाएको छ,’ अध्यक्ष थापाले भने, ‘सिद्धार्थनगर नगरपालिकाको सहयोगमा रंगाशालावरपर बार लगाएका छौं, यस वर्ष थप प्रभावकारी ढंगले प्रतियोगिता अघि बढ्ने विश्वास छ ।’ क्यानले रूपन्देहीको रोहबरमा सम्पूर्ण प्रतियोगिता सञ्चालन गर्ने अनुमति दिएकाले पनि धेरै जिम्मेवारी महसुस गरेको उनले बताए । प्रदेश क्रिकेट संघले अनुगमन गरेर सुझाएअनुरुप प्रतियोगिता सञ्चालन गरिनेछ ।
एक महिनासम्म खेलाडी, अफिसियल र प्राविधिकलगायत क्रिकेटप्रेमीको बाक्लो आउजाउ हुने भएकाले जिल्लाको आर्थिक क्षेत्र पनि चलायमान हुने उनले बताए । क्रिकेटलाई माया गर्ने शुभचिन्तकको खानी जिल्लामा भएकाले पीएम कप भव्यतासँग सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश गत वर्ष नै गइसकेको क्यानले विश्वास गरेको उनको दाबी छ । जिल्ला क्रिकेट संघको लगाव र मैदानको मर्मत र गुणस्तर कायम गर्न मिहिनेत भइरहेको उनले बताए ।
कपिलवस्तुका दुर्गेश गुप्ता आठ वर्षदेखि भैरहवामै बसेर क्रिकेट खेलिरहेका छन् । आफूले क्रिकेट सिकेको मैदानमा राष्ट्रिय खेलाडीका रूपमा खेल्न पाउनु भाग्यको कुरा भएको उनको तर्क छ । ‘म यो मैदानसँग परिचित छु, यसले मलाई राम्रो खेनुपर्छ भन्ने हौसला दिन्छ,’ उनले भने, ‘मैदानको अवस्था पहिलेको तुलनामा अधिक राम्रो भएकाले प्रशंसा गर्न योग्य मैदान लुम्बिनी प्रदेशमा बनिरहेको प्रति हामी लुम्बिनीवासी र खेलाडी खुसी हुनुपर्छ ।’ उनले काठमाडौंबाहेकका स्थानहरूमा समेत मैदान निर्माण हुनु र त्यहाँका क्रिकेटप्रेमीले प्रत्यक्ष राष्ट्रिय स्तरको खेल हेर्न पाउनुले नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्ने जनाए ।
दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले पीएम कपको सफल आयोजनाले लुम्बिनी प्रदेश अन्तर्राष्ट्रिय स्तरको खेल आयोजनालाई तयार बनिरहेको सन्देश दिन सजिलो हुने बताए । प्रदेशमा ठूला र स्तरीय खेल सञ्चालन हुँदा यहाँका सरोकारवालालाई क्रिकेटबारे बुझाउन सहज हुने उनको भनाइ छ । ‘दाङमा दर्शकमा क्रिकेट क्रेज छैन,’ उनले भने, ‘यसपालि प्रचारप्रसारले हाम्रो प्यारापिट भरिने विश्वास छ ।’
मैदानका हिसाबले दुई खेल एकैपटक सञ्चालन गर्न सकिने रंगशाला बनेको उनले जानकारी दिए । ‘यहाँका उद्योगी, व्यवसायी र सरकारका कर्मचारीलाई पनि हाम्रो मैदानको क्षमता देखाउन सकिन्छ । यस पटक राष्ट्रिय खेलाडीलाई हेर्नकै लागि मानिसको भीड रंगशालावरपर लाग्ने विश्वास छ,’ उनले भने ।
‘कुनैपनि स्थानमा खेल विकास गर्न खेलाडी वा त्यसप्रति लगाव भएकाले गरेर मात्र सम्भव छैन,’ उनले थपे, ‘सरकार, उद्योगी र समग्र नागरिकले साथ दिएमात्र सधैंका लागि उक्त स्थानमा भएको लगानीले ताजगी पाउँछ ।’
रूपन्देही क्रिकेट संघका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले क्रिकेटमा हरेक तबरबाट योगदान पुर्याइरहेको लुम्बनी प्रदेशले पीएम कप जस्तो ठूलो प्रतियोगिता गर्ने अवसर पाउनु स्वागतयोग्य कदम भएको बताए । ‘हामीले सिद्धार्थ रंगशाला तयार गरेर राम्रा खेलाडी उत्पादन गरिरहेका थियौं,’ उनले भने, ‘अहिले निजी क्षेत्रको लगानीमा रूपन्देहीमा अन्तराष्ट्रिय स्तरको स्टेडियम थपिनेले लुम्बिनी प्रदेशलाई क्रिकेट हब बनाउन मदत मिलेको छ ।’
पीएम कपका लागि छनोट भएको तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा नेपालमै पहिलो पटक ५ वटा फ्लडलाइट जडान गरिएको छ । ७ करोड रुपैयाँभन्दा बढी खर्च गरी जडान गरिएको लाइटले अब एक्स्ट्राटेकमा रात्रिकालीन खेल गर्न सकिने अवस्था बन्दै गएको छ ।
रूपन्देहीमा क्रिकेट आयोजना हुने भएपछि खुसी लागेको क्रिकेटप्रेमी पुनाराम पोखरेलले बताउँछन् । भारतमा छँदा खुबै खेल हेर्ने मौका पाए पनि नेपाल आइसकेपछि रूपन्देहीबाहिर गएर हेर्न जान नपाएको उनले सुनाए । ‘यसपालि हरेक खेल हेर्न जाने योजना बनाइसकेको छु,’ उनले भने, ‘रिटायर्ड लाइफमा छु, खेल रुचिको विषय हो, म हेर्न जानेछु । काठमाडौंबाहिर मैदान बनाउन सकिँदो रहेछ भन्ने रूपन्देहीले प्रमाणित गरेकामा खुसी लागेको छ ।’
