च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डले बनाएको ३ सय ६२ रन अहिलेसम्मकै उच्च स्कोर
लाहोर — आईसीसी मेन्स च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भिडन्तमा भारतले न्युजिल्यान्डको सामना गर्ने भएको छ । न्युजिल्यान्डले बुधबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्यो ।
जितका लागि ३ सय ६३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको दक्षिण अफ्रिकाले जवाफमा ९ विकेट गुमाएर ३ सय १२ रनमात्र बनाउन सक्यो । फाइनल आइतबार दुबईमा हुनेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि डेविड मिलरले ६७ बलमा सनसनीपूर्ण १०० रन बनाए पनि त्यसले निर्णायक रूप लिन सकेन । उनले ६७ बलमा १० चौका र ४ छक्का प्रहार गरे । त्यसअगाडि ओपनर रायन रिकेल्टसन १७ रनमै आउट भए । अर्का ओपनर तथा कप्तान टेम्बा बाभुमाले ५६ रन जोडे । उनी मिचेल सान्टनरको बलमा आउट भए । उनले रस भान डेर डुसेनसँग दोस्रो विकेटका लागि १ सय ५ रनको सोझदारी गरेका थिए । उनी पनि सान्टनरकै बलमा ६९ रनमा बोल्ड भए ।
उनले ६६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे । त्यसपछि दक्षिण अफ्रिका खुलेर रन बनाउन सकेन । नियमित अन्तरमा विकेट पनि गुमाउँदै गयो । सुरुमा ब्याटबाट राम्रो प्रदर्शन गरेको न्युजिल्यान्डको बलिङ आक्रमण पनि अनुशासित रह्यो । दक्षिण अफ्रिकालाई सस्तोमा समेट्न सान्टनरको प्रदर्शन निर्णायक देखियो । एडेन मारक्रमले २९ बलमा ३१ रनको योगदान दिए । दक्षिण अफ्रिका भने फेरि एकपल्ट ठूलो प्रतियोगितामा निर्णायक मोडमा अपेक्षित प्रदर्शन गर्न असफल रह्यो ।
त्यसअघि रचिन रवीन्द्र र केन विलियम्सनको उत्कृष्ट शतक मदतमा न्युजिल्यान्डले ६ विकेट गुमाई ३ सय ६२ रनको स्कोर खडा गरेको थियो । यो प्रतियोगिताकै इतिहासमा अहिलेसम्मको उच्च स्कोर पनि रह्यो । रवीन्द्रले १ सय १ बलमा १ सय ८ रन बनाए । विलियम्सनले भने ९४ बलमा १ सय २ रन जोडे । न्युजिल्यान्डले टस जितेर ब्याटरलाई मदत गरिरहेको पिचमा पहिले ब्याटिङको निर्णय गरेको थियो । यो निर्णय पनि सही साबित भयो ।
ड्यारेल मिचेलले ३७ बलमा ४९ रन बनाए भने ग्लेन फिलिप्स २७ बलमा ४९ रन जोडर नटआउट रहे । ‘ब्ल्याक क्याप्स’ ले अन्तिम १० ओभरमा १ सय १० रन बनाएको थियो ।
अझ अन्तिम ५ ओभरमा ६६ रन निस्केको थियो । दक्षिण अफ्रिकी बलिङ आक्रमण सुरुदेखि कमजोर साबित भएको थियो । रवीन्द्रले २१ रन बनाएका विल योङसँग मिलेर पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । त्यसपछि रवीन्द्र र विलियम्सनले १ सय ६४ रनको ठोस साझेदारी गरे ।
कागिसो रबाडाको बलमा २ रन बटुल्दै रवीन्द्रले ९३ बलमै आफ्नो शतक पूरा गरे । यो उनको पाँचौं एकदिवसीय शतक रह्यो । यी सबै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) कै आधिकारिक प्रतियोगितामा बनेका हुन् । उनले १३ चौका र १ छक्का प्रहार गरे । विलियम्सनले भने आफ्नो १५ औं एकदिवसीय शतक आत्मसात् गरे । उनको ब्याटबाट १० चौका र २ छक्का निस्केको थियो । यसअघि अस्ट्रेलियाले लाहोरमै इंग्ल्यान्डविरुद्ध ५ विकेटमा ३ सय ५६ रनको उच्च स्कोर खडा गरेको थियो ।
