बागमती प्रदेश स्तरीय क्रिकेटमा ललितपुर च्याम्पियन

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Lalitpur champion in Bagmati state level cricket

काठमाडौँ — ललितपुर जिल्लाले बागमती प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता जितेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न फाइनलमा ललितपुरले मकवानपुर जिल्लालाई ‘लो स्कोरिङ’ खेलमा ६५ रनले हरायो ।

मकवानपुरले टस जितेपछि ब्याटिङ निम्ता पाएको ललितपुर ४९.३ ओभर खेल्दै १ सय ९२ रनमा आउट भयो । आदिल खानले ६४ बलमा ५५, सूर्य तामाङले ३३ बलमा ३६ र कप्तान आशुतोष घिरोहियाले ६३ बलमा २८ रन बनाए । मकवानपुरबाट साकार गजुरेलले २२ रन खर्चेर ४, समीर चौलागाईंले ३२ रन खर्चेर २ र रिजन ढकालले १ विकेट लिए ।

जबाफमा मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमै अलआउट भयो । नन्दन यादवले १६ रन खर्चेर ४ लिए । प्लेयर अफ द फाइनल भने सूर्य तामाङ चुनिए । उनले अलराउन्ड प्रदर्शन गर्नेक्रममा २९ रन खर्चेर ३ विकेट लिएका थिए । अर्का स्पिनर विपिन आचार्यले ३० रन खर्चेर २ विकेट लिए । मकवानपुरबाट विशाल फुयालले ६४ बल खेलेर ४१, युबिन बुढाथोकीले ६८ बल खेल्दै २५ र रिजनले ३१ बल खेल्दै १६ रन बनाए ।

भक्तपुरका सौरभ साखकर्मी उत्कृष्ट ब्याटर र ललितपुरका विपिन उत्कृष्ट बलर चुनिए । सौरभले सर्वाधिक २ सय १९ रन बनाए भने विपिनले सर्वाधिक १४ विकेट लिए । नन्दनले प्लेयर अफ द सिरिजको पुरस्कार पाए । १२ विकेट लिएका उनले सिरिजका लागि आवश्यक सर्वाधिक अंक पाएका थिए ।

यसैबीच बागमती प्रदेशले आइतबारदेखि लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । पृथु बाँस्कोटाको कप्तानीमा रहने बागमती टोलीमा रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सूर्य तामाङ, रित गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, सौरभ साखकर्मी, आशुतोष घिरोहिया, शुभ कंसाकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक रानामगर छन् ।

साकार गजुरेल, आदिल खान, तिलक राजभण्डारी, प्रतीक श्रेष्ठ र उत्तम थापामगरलाई बागमतीले वैकल्पिक सूचीमा राखेको छ । गत वर्षको सेमिफाइनलिस्ट बागमतीले रूपन्देहीस्थित एक्स्ट्राटेक ओभलमा नेपाल एपीएफ क्लबविरुद्ध खेलेर प्रधानमन्त्री कपको सुरुआत गर्नेछ । 

कान्तिपुर

Link copied successfully