इन्डो–नेपाल टी–२० क्रिकेटमा दमकको जित

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Damak's victory in Indo-Nepal T-20 cricket

झापा — लर्ड बुद्ध क्रिकेट क्लबलाई ५० रनले पराजित गर्दै दमक क्रिकेट टिम दोस्रो चरणमा प्रवेश गरेको छ । झापाको बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा बिहीबार टस हारेर पहिला ब्याटिङ गरेको दमकले १६ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४१ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

दमकका लागि अभिषेक थापाले २७ बलमा सर्वाधिक ४७ रन बनाए । निरज थापाले १५ बल खेल्दै ३४ रन जोडे । विवेक पौडेलले १३ र विजयले १२ रनको योगदान दिए । 

बलिङतर्फ लर्डबुद्ध क्रिकेट क्लबका आयुष कार्की र अर्जुन राजवंशीले तीन–तीन विकेट लिए । क्षितिज पोर्तेलले दुई विकेट हात पार्दा प्रवेश दाहाल र रवि गोस्वामीले एक–एक विकेट लिए ।

१ सय ४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा लर्डबुद्ध क्रिकेट क्लब ९० रनमै समेटियो । टिमका लागि क्षितिज पोर्तेलले २१ बलमा सर्वाधिक ३८ रन बनाए । सुभम लिम्बूले १२ र उत्तम राजवंशीले ११ रनको योगदानबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । 

दमकका विजय तामाङले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने निरज पाठकले तीन विकेट हात पारे । विनोद विक, अभिषेक थापा र अनिष खड्काले एक/एक विकेट लिए । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका निरज पाठक भए । शुक्रबार बल ब्लास्टर भद्रपुर र झापा क्रिकेट क्लबबीच खेल हुने आयोजक बाहुनडाँगी युवा क्लबका खेल संयोजक प्रविन भण्डारीले जनाए ।

कान्तिपुर

Link copied successfully