काठमाडौँ — नेपालका ६ खेलाडीले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागिता जनाउने भएका छन् । १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली जाने भएको छ ।
मार्च ७ देखि १४ सम्म हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले भाग लिनेछन् । पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गर्नेछन् । गोविन्दले ज्याभलिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला २ सय, ४ सय मिटर दौड र लङजम्पमा भाग लिनेछन् ।
राखेप सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी र प्रशिक्षकमा विमला राना मगर छन् ।
एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोस्रो पटक हो । नेपालले गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागिता जनाएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिएका हुन् । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे ।
