वीरगन्ज — दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार मछिन्द्र फुटबल क्लबले अपी चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै सेमिफाइनल तय गरेको छ । मछिन्द्रले बिहीबार हुने दोस्रो सेमिफाइनलमा सलहेस फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।
सलहेसले संकटा क्लबलाई हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
आदर्शनगर रंगशालामा पहिलो हाफ गोलरहित बनेको थियो । मछिन्द्रले खेलको ५४ औं मिनेटमा अग्रता लिएको थियो । कप्तान रेजिन सुब्बाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका कप्तान डिका सेर्गेले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयसम्म खेल बराबरीमै थियो । दुवै टोलीका खेलाडीको स्कोर प्रयास सफल हुन सकेन । ५ मिनेटको इन्ज्युरी समयमा कप्तान रेजिनले दोस्रो गोल गर्दै मछिन्द्रको जित सुनिश्चित बनाए । दुई गोल गरेका रेजिन नै म्यान अफ द म्याच भए ।
उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बुधबार सेमिफाइनलमा नेपाल पुलिस र वीरगन्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
