हेटौंडा — मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि हेटौंडा उपमहानगरपालिकाको टिमले जितेको छ । आइतबारबाट सुरु भएर मंगलबार अपराह्न सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हेटौंडाले चुमेको हो ।
हेटौंडाले १५ स्वर्ण, १० रजत र ९ कास्य पदक प्राप्त गरेको छ । यसैगरी १३ स्वर्ण, ५ रजत र १० कास्य पदक प्राप्त गर्दै बकैया गाउँपालिका द्वितीय भएको छ भने तृतीय भएको थाहा नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ६ कास्य पदक प्राप्त गरेको छ । बागमती गाउँपालिकाको टिमले ६ स्वर्ण, १७ रजत र १७ कास्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा मकवानपुरको ९ वटा पालिकाबाट विभिन्न विधाका करिब ६ सय जना खेलाडीहरुको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथ्लेटिक्स, कराते, तेक्वान्दो कबड्डी लगायतका खेलहरु सञ्चालन भएको थियो । इन्द्रसरोवर गाउँपालिका प्रतियोगितामा सहभागी भएको थिएन ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्रदान गरिएको छ । गत वर्ष सम्पन्न भएको १४ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि हेटौंडा प्रथम भएको थियो । विजेता, उपविजेताहरुलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामालगायत शिल्ड, मेडल एवं पुरस्कार र प्रमाणपत्रहरु वितरण गरेकी थिइन् ।
