पहिलो क्वाटर फाइनलमा आज त्रिभुवन आर्मी र रिजालको मोरङ-११ भिड्दै
विराटनगर — विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा मंगलबार पाहुना टोली दिल्ली फुटबल क्लबलाई टाई बेकरमा ५–३ गोलले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि टाई ब्रेकरवाट खेलको निर्णय भएको थियो । टाई ब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दीपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे । दिल्लीका राहिफ, पिसी र उदितले मात्र गोल गर्न सफल भए भने रमेशको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट उत्कृष्ट बचाउ गरे ।
खेलको पहिलो हाफमा दबाबमा रहेको एपीएफले दोस्रो हाफदेखि आक्रामक प्रदर्शन गरेको थियो । खेलको ३० औं मिनेटमा एपीएफका हरि कार्कीले मध्य भागबाट बल लिएर डिबक्सभित्र प्रहार गरेका थिए तर बल बाहिरिएको थियो । त्यसपछि मणि कुमार लामाले सुन्दर अवसर पाए । तर, गोल गर्न चुके । ३७ औं मिनेटमा हरि कार्कीले डिबक्सभित्रबाट गरेको प्रहार फस्ट बारबाट वाहिरियो ।
दिल्लीले दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि तिनलाई गोलमा परिणत गर्न असफल रह््यो । खेलको ८५ औं मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकबाट प्रहार गरेका थिए, जसलाई एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे , त्यस लगत्तै दिल्लीका लुन्कलको वान टच बललाई पनि श्रेष्ठले नै बचाए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बुधबार पहिलो क्वाटर फाइनल खेल त्रिभुवन आर्मी र रिजाल्को मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ । रिजाल्कोले सोमवार उद्घाटन खेलमा अर्को पाहुना टोली कोलकातालाई ३–२ ले हराएको थियो ।
