पाँचथर — विभागीय टोली एपीएफ क्लबले इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।
इलामस्थित ठुलो टुँडिखेलमा मंगलबार एपीएफले प्रतिस्पर्धी भारतको मदर टेरेसा एफसीलाई १४–१ गोलले हरायो । एपीएफले अब सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
महिला लिग विजेता र विभिन्न क्लबमा आबद्व खेलाडी मैदानमा उतारेको एपीएफले विपक्षीलाई सुरुदेखि दबाबमा राखेको थियो । छैटौं मिनेटमा एपीएफकी अनिता केसीले गोल गर्दै खाता खोलिन् । १२ औं मिनेटमा मदर टेरेसाकी प्रतिज्ञा क्षेत्रीले गोल फर्काए पनि टिमका लागि त्यो सान्त्वना गोलमात्र भयो ।
८० औं मिनेटसम्म एपीएफबाट रश्मिकुमारी घिसिङले ६ र अनिता बस्नेतले ५ गोल गर्दा मनमाया दमाई र कुसुम खतिवडाले १–१ गोल थप्दै टिमलाई फराकिलो अन्तरमा जित दिलाए । दोहोरो ह्याट्रिक गरेकी रश्मिकुमारी प्लेयर अफ द म्याच भइन् । उनले ५ हजार पुरस्कार पाइन् ।
बुधबार पहिलो सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलाम र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
