काठमाडौँ — राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन् ।
ललितपुर महानगरपालिका– २ स्थित सानेपामा खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको रेडियन्ट रिडर्स एकेडेमीले जनाएको छ ।
प्रशिक्षकहरूमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक सामसङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी छन् । एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ ।
विद्यालयमा १ सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ । रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिन्यास्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराइरहेको छ ।
पूर्व कप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउँदै नेपाली क्रिकेट विकासमा एकेडेमीले योगदान दिने विश्वास व्यक्त गरे । उनले साधारण प्रशिक्षणमात्र पर्याप्त नहुने भएको हुँदा एकेडेमीमै प्रशिक्षण लिएको खण्डमा खेलाडीको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए । प्याब्सनका केन्द्रीय अध्यक्ष समेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमी स्थापना गरिएको बताए ।
उनले नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनाउनेतर्फ प्याब्सनले काम गरिरहेको जानकारी गराए ।
उद्घाटनमा ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठ सहभागी थिए । पूर्वकप्तान मल्ललाई ‘अटोग्राफ’ दिन भ्याइनभ्याइ भएको थियो ।
