काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसको सहायकका रूपमा मंगलबार सल्यान खड्गीलाई नियुक्त गरिएको छ । सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल तथा मलेसिया विरुद्धको एसिया कप छनोटमा उनी सहायक प्रशिक्षक रहने छन् ।
अस्ट्रेलियाका म्याट रसले दुई दिन अगाडि मात्रै एक वर्षका लागि अनुबन्ध गरेका हुन् । नेपाली टिमको गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल रहने छन् । यस्तै निशान्त जोशी टिमको फिजियोथेरापिस्ट हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनीहरूलाई नियुक्तिपत्र पनि प्रदान गरेको छ ।
नेपालले चैत ८ मा सिंगापुरविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दैछ र यो रस नेतृत्वमा पहिलो खेल हुनेछ । त्यसपछि मलेसियाविरुद्ध चैत १२ मा एसिया कप छनोटको खेल खेल्नेछ ।
