काठमाडौँ — काठमाडौं उपत्यकाका युवा चेस खेलाडीबीच दुई दिन एनसीसी जुनियर चेकमेट चेस प्रतियोगिता सम्पन्न भएको छ । एनसीसी शिक्षा तथा खेलकुद समितिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्सको सहकार्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका १०१ प्रतिस्पर्धी थिए । कक्षा ३–५ र कक्षा ६–८ तर्फ छात्रछात्राको समूह बनाएर प्रतिस्पर्धा गराइएको थियो ।
कक्षा ३–५ छात्रातर्फ फ्युचर स्टार एकेडेमीकी ग्लोसी श्रेष्ठले उपाधि जितिन् । सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी सुवानी राणा र अन्नपूर्ण माविकी टिस्टिना बस्नेत दोस्रो र तेस्रो भए । छात्रतर्फ अन्नपूर्ण माविका युनिश खड्का विजेता भए । संस्कृतिका सम्भव थुलुङ दोस्रो र ग्रिनल्यान्डका सुलभ पन्थी तेस्रो भए ।
कक्षा ६–८ तर्फ छात्रामा मार्भलसकी निहाना श्रेष्ठले उपाधि जितिन् । अन्नपूर्ण माविकी ओजश्वी श्रेष्ठ दोस्रो र डिभाइनकी जेनिशा न्यौपाने तेस्रो भए । छात्रतर्फ निसर्ग बाटिकाका सात्विकमान तुलाधर, आयन जोशी र एसियन पब्लिकका दिपन मैनाली शीर्ष तीनमा विजेता भए ।
स्विस प्रणालीमा छात्रतर्फ ६ राउन्ड र छात्रामा ४ राउन्डमा खेलाइएको थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र एनसीसी शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशीले विजेता खेलाडीलाई पुरस्कृत गरे ।
समग्र प्रदर्शनको आधारमा अन्नपूर्ण मावि शीर्षस्थानमा रह्यो । सिद्धार्थ वनस्थली दोस्रो र निसर्ग बाटिका तेस्रो स्थानमा रहे । बौद्धिक खेलकुद र युवा विकासको प्रवर्द्धनमा एनसीसीको निरन्तरता रहने अध्यक्ष राजवंशीले बताए ।
