आमाहरूको फुटबल प्रतिस्पर्धा

फाल्गुन २०, २०८१

लक्ष्मी गौतम

Mom's Soccer Competition

पाँचथर — लुङ्गी लगाएर पनि फुटबल खेलिन्छ र ? यो असम्भव । सिदेन सामुदायिक विकास क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा सोमबार आमाहरूबीच लुङ्गी फुटबल खेल हुने खबर पाएका स्थानीय अचम्म मान्दै खेल हेर्न मैदान पुगे । मध्याह्नपछि औपचारिक कार्यक्रम सुरु भयो । कार्यक्रम सञ्चालकले प्रतियोगिताका सहभागी टिमलाई मैदानमा तयार हुन आग्रह गर्नासाथ खेलाडीहरू एकपछि अर्को गर्दै मैदान उत्रिए ।

प्रतिस्पर्धाका लागि आयोजक सिदेन सामुदायिक विकास क्लब र एक्टिभ ब्यान्ड नेपाल गरी दुई तयार भए । दुवै टिमका खेलाडीले जर्सीमा लोगो र नाम अंकित टिसर्ट अनि तल फरक रंगका लुङ्गी पहिरिएका थिए । अधिकांशको खुट्टामा स्पोर्ट सुज थियो । आ–आफ्नो जिम्मेवारीअनुसार कोही गोलकिपर बसे, कोही डिफन्स त कोही फरवार्ड खेल्न तयार भए । रेफ्रीले सिठी फुक्नासाथ खेल सुरु भयो । विस्तारै खेलको माहोल तात्न थाल्यो । खेलाडीहरूले विपक्षी पोस्टमा बल हान्दा होस् वा रोक्दा निकै तौरतरिका पुर्‍याए । लुङ्गी लगाएका खेलाडी आमाहरूको खेलमा देखिएको कलाकौशलले दर्शकको मन तान्यो । हुटिङ गर्नेहरू थपिँदै गए । लुङ्गीमा कुनै अप्ठ्यारो महसुस नगरी दौडिँदै बल अघि बढाउँदाको दृश्य झनै रोचक हुन्थ्यो । 

‘लुङ्गी लगाएर कसरी मैदानमा भिड्छन् त ? भन्ने लागेको थियो सजिलै खेलेको देखियो, एकदम रमाइलो भयो,’ दर्शकदीर्घामा रहेका गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले भने । प्रेममाया केरुङले आयोजक र सुशीला देवानले एक्टिभ ब्यान्डको कप्तानी गरेका थिए । खेलमा दुवैको भूमिका भने फरक थियो । सुशीलाले फरवार्ड खेलिन् भने प्रेममाया गोलरक्षकको भूमिकामा थिइन् ।

सुशीलाको प्रहार प्रेममायाले तीनपटक बचाउ गरे पनि चौथो पटक छेक्न सकिनन् । अन्ततः सुशीलाको त्यही प्रहार एक्टिभ ब्यान्डको जितमा निर्णायक बन्यो । ४० मिनेट सम्म चलेको प्रतियोगितामा आयोजकले पटक–पटक गोल गर्ने प्रयास गरे पनि सफल नहुँदा एक्टिभ ब्यान्डसँग १–० मै रोकियो । 

आमाहरूबीचको फुटबल प्रतिस्पर्धा किन लुङ्गीमै भन्ने प्रश्नमा प्रतियोगिताका परिकल्पनाकार आयोजक सिदेन सामुदायिक क्लबका पूर्वअध्यक्ष डिल्ली केरुङले भने ‘बिहे गरेका र नानी जन्माइसकेका दिदीबहिनीले जर्सी र हाफ पाइन्टमा मैदान निस्कन संकोच मान्नुभयो । हाफ पाइन्ट होइन, बरु लुङ्गी नै लगाउँछौं भनेपछि नयाँ प्रयोग हुन्छ भनेर यस्तो गरियो ।’ 

विजेता र उपविजेता टिम र खेलाडीलाई पुरस्कारका रूपमा नगदसहित लुङ्गी नै प्रदान गरिएको थियो । विजेतालाई ५ हजार र एक–एक सेट लुङ्गी तथा उपविजेतालाई ३ हजार र १–१ सेट लुङ्गी पुरस्कार दिइएको थियो ।

हुन त फुटबलको आफ्नै नियम हुन्छ । जहाँ खेलाडी र गोल रक्षकका बेग्लै जर्सी हुन्छन् । यद्यपि ग्रामिण भेगमा फुटबलमा रुचि रहँदारहँदै पनि मैदानमा निस्कन लजाउने आमाहरूको कलाकौशल सार्वजनिक गर्दै प्रतिर्स्धामा उत्रन अभ्यस्त गराउने उद्देश्यले लुङ्गीमा फुटबल खेलाइएको आयोजक क्लबका अध्यक्ष प्रकाश केरुङले बताए । सुन्दा अप्ठेरो लागे पनि लुङ्गी लगाएर खेल्न सहजै भएको आयोजककी कप्तान प्रेममाया केरुङको बताइन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully