बुधबार हुने फाइनलमा मछिन्द्र र थ्रीस्टार भिड्ने
कपिलवस्तु — विमल घर्ती मगरको गोल मद्दतले मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा जोङग्र्री एफसी सिक्किम भारतलाई शून्यका विरुद्ध १ गोलको रोमाञ्चक जित निकाल्दै मछिन्द्रले फाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा विमलले ५३ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । सिक्किमले गोल फर्काउन नसकेपछि विमलको उक्त गोल नै मछिन्द्रलाई फाइनल यात्रा तय गराउन निर्णायक साबित भयो ।
मछिन्द्रका कप्तानसमेत रहेका विमल ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसीविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै थ्रीस्टार एफसी ललितपुर फाइनलमा पुगिसकेको छ ।
बुधबार दिउँसो ३ बजे दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार र मछिन्द्र भिड्ने जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले बताए ।
जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुशीलसिंह ठकुरीले बताए । वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा फागुन १४ देखि सुरु भएको गोल्डकपको फाइनल फागुन २१ मा हुनेछ ।
