काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अस्ट्रेलियन प्रशिक्षक म्याट रसलाई दिइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरी रसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी दिएको हो ।
एन्फाले आइतबारदेखि लागू हुनेगरी रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पत्रकार सम्मेलनमाप्रशिक्षक रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।
उनले एसियन कप क्वालिफायरमा राम्रो नतिजा दिलाउन प्रयास गर्ने आशा व्यक्त गरेका छन् । नेपाली फुटबल टोलीमा क्षमतावान् खेलाडी रहेको र महिला टोलीमा पनि क्षमतावान् खेलाडी रहेको उनको भनाइ छ ।
आफूले विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षण गराएको पनि उनले उल्लेख गरेका छन् ।
