नेपालगन्ज — बाँकेको कोहलपुरमा शनिबारदेखि जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ ।
आइतबार सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको सहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो ।
खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमासमेत दुवै टोली गोल गर्न असफल गरे । प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा दुवै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको घाना फुटबल क्लब, भारतको सहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ ।
कोहलपुर रेसिङ सहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।
