वीरगन्ज — सहलेश फुटबल क्लब सिरहाले दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगिताको दोस्रो दिनको खेलमा संकटा क्लब काठमाडौंलाई स्तब्ध पारेको छ । सहलेश पेनाल्टी सुटआउटमा ५–४ गोलले विजयी भयो । निर्धारित समयमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
संकटाबाट कप्तान सुदीप गुरुङ, राजीव लोप्चन, इसेरिङ लामा र सोम कर्लोसले गोल गरेका थिए भने राम थापाले हिर्काएको पेनाल्टी सहलेशका गोलरक्षक विशाल सुनारले रोक्न सफल भए । उनै विशाल प्लेयर अफ द म्याचमा चुनिएर नगद १० हजार पाए । सहलेशका एमबाउन बनिसेट, सुमित श्रेष्ठ, अमन लामा, शिशिर लेखी र जय गुरुङले गोल गरे ।
सहलेशका गोलरक्षक विशालले तीन वटा प्रहारलाई गोलपोस्टमा छिर्नबाट रोकेर निर्धारित समयको खेलको संकट टारेका थिए । संकटाका गोलरक्षकले पनि विपक्षी खेलाडीका दुई वटा प्रयासलाई रोकेका थिए ।
सोमबार नेपाल पुलिस क्लब र बागमती फुटबल क्लब सर्लाहीले प्रतिस्पर्धा गर्नेछ । पुलिस गत वर्ष सम्पन्न पहिलो संस्करणको विजेता हो । भेट्रान्स सिटी क्लबको आयोजनामा वीरगन्जको आदर्शनगर रंगशालामा फागुन २४ गतेसम्म आयोजना हुने गोल्डकपमा नेपाल र भारतका आठ वटा टिमले सहभागिता जनाएका छन् । विजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । सर्वोकृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटी प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड सात लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
वीरगन्ज महानगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । गोल्डकप आयोजनाका लागि आदर्शनगर रंगशालामा अस्थायी प्यारापिट निर्माण गरिएको छ । नारायणी रंगशाला जीर्ण रहेकाले गोल्डकप आदर्शनगर रंगशालामा आयोजना गरिएको हो ।
