काठमाडौँ — मैवाखोला गाउँपालिकाको केन्द्र साँघुमा सम्पन्न महिला फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले जितेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित समयमा गोल नभएपछि टाइब्रेकरमा मेन्छयायेमले ४–३ गोलले जित हात पारेको हो ।
आयोजक जलजले क्लब साँघुका सचिव चिरञ्जीवी चोङवाङका अनुसार विजेताले ८० हजार र उपविजेताले ४० हजारसहित ट्रफी र मेडल प्राप्त गरे ।
प्रतियोगीतामा ७ गाउँपालिकाका टिमको सहभागिता थियो । महाशिवरात्रिका अवसरमा फागुन १३ देखि आयोजित प्रतियोगिताका विजेता र उपविजेतालाई गाउँपालिका अध्यक्ष विजय वनेम लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
