क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान : खड्का

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

A well-equipped ground to ensure the future of cricket: Khadka

पोखरा — क्रिकेटको भविष्य सुनिश्चित गर्न सुविधा सम्पन्न मैदान आवश्यक रहेको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बताएका छन् । पोखरामा आइतबार १२ औं नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन ‘फ्रि हिट : एनपीएलभन्दा पर’ सत्रमा उनले पत्रकार सविना कार्कीसँगको संवादमा नेपाल प्रिमियर लिग (एनपीएल) को भविष्य सुनिश्चित गर्न पनि सुविधा सम्पन्न मैदानको खाँचो औंल्याए ।

उनले सुविधा सम्पन्न क्रिकेट मैदान बनेको खण्डमा क्रिकेटका लागि सरकारको भर पर्नु नपर्ने जिकिर गरे । ‘सम्पन्न क्रिकेट मैदान बनेको खण्डमा दर्शकबाट धेरै त होइन, ५ सय, हजार, १५ सय, दुई हजार टिकटमार्फत रेभिन्यु कलेक्ट गर्न सक्छौं,’ उनले भने, ‘त्यो हुन सकेमा क्रिकेटमा सरकारमा भर नपरी आफैं पनि सञ्चालन गर्न सक्छौं भन्ने स्थितिमा पुगेका छौं ।’

त्रिवि क्रिकेट मैदान कीर्तिपुरको फ्लड लाइट बनाउन टेन्डर प्रक्रिया पूरा भइसकेको उनले सुनाए । एनपीएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने गरी काम हुने प्रतिबद्धता मन्त्रालयबाट प्राप्त भएको उनको भनाइ थियो । नेपाली राष्ट्रिय पुरुष टोलीको पूर्वकप्तानसमेत रहेका उनले राष्ट्रिय टोलीका उत्कृष्ट १०–१२ खेलाडीले वर्षमा ४०/५० लाख कमाउने स्थितिमा पुगेको दाबी गरे । 

आर्थिक हिसाबले अहिले क्रिकेटमा खेलाडी र संघको स्तर राम्रो रहेको उनले सुनाए । ‘मैले क्रिकेट सुरु गर्दा क्रिकेट संघमा २५ रुपैयाँ भत्ता पाइन्थ्यो । २५ रुपैयाँबाट सुरु गरेर हाम्रो जेनेरेसनले अन्तर्राष्ट्रिय प्रतियोगितामा २५ डलर पाउँथ्यौं,’ उनले भने, ‘वर्षमा ७ सय ५० डलर कमाउने त्यो अवस्थामा ब्याट पनि किन्नुपर्‍यो । लुगा पनि किन्नुपर्‍यो । परिवारलाई पनि अलिअलि दिनुपर्‍यो । साथीभाइलाई पनि खुवाउनुपर्‍यो । त्यो संरचनाबाट क्रिकेट जुन अवस्थामा अहिले पुगेको छ, आर्थिक हिसाबले खेलाडी, क्रिकेट संघ धेरै राम्रो स्तरमा पुगेको हो ।’

सन् २०२४ मा भएको टी–२० विश्वकप भारतपछि सबैभन्दा धेरै नेपालको ‘फ्यान फलोइङ’ रहेको उनले सुनाए । नेपालले अमेरिकामा विश्वकप खेल्दा ८ हजार ९ सय ५० नेपाली दर्शक हुँदा नेदरल्यान्ड्सका ५० जना मात्रै रहेको उनले बताए । संघले अहिले राष्ट्रियदेखि प्रदेशसम्मका ८०–९० खेलाडीसँग सम्झौता गरी मासिक पारिश्रमिक दिने गरेको बताए । उनले भने, ‘क्रिकेट संघले ३० जना पुरुष र १९ जना महिला खेलाडी, प्रदेशबाट पनि गरी ८०–९० जना खेलाडीलाई कन्ट्र्याक्ट दिएर खेलाउने अवस्थामा पुगेका छौं,’ उनले भने, ‘यी सबै जोड्दा क्रिकेट संघ राम्रो स्थितिमा छ ।’ 

संघले अहिले खेलाडी, प्रशिक्षक, मैदानका कर्मचारी सबैलाई कसरी व्यावसायिक रूपमा लैजान सकिन्छ भनेर काम गरिएको उनले सुनाए । ‘खेलाडीको पारिश्रमिक एक लाखलाई दुई लाख कसरी बनाउने ? जिल्ला, प्रदेशबाट नै हाम्रो खेलाडी, प्रशिक्षक, ग्राउन्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसनका रूपमा यसमा लाग्न सकिन्छ भनेर इन्डस्ट्री बनाउनुपर्छ भनेर अगाडि बढेका छौं,’ उनले भने । 

एनपीएलले खेलकुद संस्कार विकास गरेकामा उनले खुसी व्यक्त गरे । ‘एनपीएल सकिएसँगै जनकपुर बोल्ट्सले मधेश प्रदेशमा गएर जानकी मन्दिर अगाडि गएर ट्रफी टुर गर्दा कसैले नबोलाईकन ५/७ लाख मान्छेहरू यो मेरो टिम हो भनेर टिमलाई समर्थन, ट्रफीलाई एक पटक छुनका लागि जानुभयो,’ उनले भने, ‘त्यो सुन्दा, देख्दा एनपीएलबाट संस्कार, खेलकुद पनि प्र्राथमिकतामा पर्छ । खेलकुद विकास गर्नुपर्छ भनेर सबै जनामा आफ्नोपन आएको फिल भएको छ ।’

कान्तिपुर

Link copied successfully