काठमाडौँ — ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा उपाधि जितेका छन् । अर्नव पुरुष र आरती महिलामा विजेता भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शीर्ष रोय पत्वारीलाई ७–११, ११–७, ११–४, ११–५ को सेटमा हरायो ।
महिलातर्फ आरतीले ग्लोबलकी अनन्य सन्त्रलाई ११–८, ११–४, ११–५ को सोझो सेटमा हराइन् । दुवै विधाका शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार पुरस्कार हात पारे ।
सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङ टेबलटेनिस एसोसिएसनका कुना बोसले आयोजक ललितपुरका कपिल कुमारलाई ९–११, ११–९, ११–७, ११–६ को सेटमा हरायो । ४० वर्षमाथि पुरुष सिंगल्समा दार्जिलिङका तानमोय दत्तले खोल्चापुखःका समिप श्रेष्ठलाई ११–९, ११–७, ११–६ ले हराए ।
विजेतालाई ललितपुर महानगरपालिका प्रवक्ता एवं वडा ९ का अध्यक्ष राजु महर्जन, मुख्य प्रायोजक सम्झनाकी प्रबन्ध निर्देशक रजना जोशी, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले पुरस्कृत गरे ।
सोही अवसरमा दक्षिण एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस महिला टिम इभेन्टतर्फ स्वर्ण जितेकी खेलाडी गीता क्षेत्रीलाई लाइफटाइम्स एचिभमेन्ट अवार्डबाट सम्मान गरियो ।
