तिलौराकोट गोल्डकप : जोङ्ग्री एफसी सिक्किम विजयी

फाल्गुन १७, २०८१

मनोज पौडेल

Tilaurakot Gold Cup: Jongri FC Sikkim won

कपिलवस्तु — दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सिक्किमको जोङ्ग्री एफसी विजयी भएको छ । शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ट्राईब्रेकरमा पराजित गर्दै जोङ्ग्री एफसीले अन्तिम चारमा स्थान बनाएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

सिक्किमले पुलिसलाई ट्राईब्रेकरमा ४–२ गोलले पराजित गरेको हो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । सिक्किमको जितमा निमा लेप्चा, आयुभ सुब्बा, जोन लेप्चा र चोपेलले गोल गरे । पुलिसका लागि कृष्ण गुरुङ र अमित टमाटाले मात्र गोल गरे । पुलिसका अनुप लिम्बूको प्रहार बाहिरियो भने किरण चौधरीको प्रहार सिक्किमका गोल रक्षक प्रनिश क्षेत्रीले रोकेका थिए ।

सिक्किमका गोलरक्षक प्रनिश क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 

अब सिक्कम सोमबार हुने दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र एफसीसँग भिड्ने छ । आइतबार दिउँसो ३ बजे संकटा एफसी र थ्रीस्टारबीच पहिलो सेमिफाइनल खेल हुने जिल्ला फुटबल संघ अध्यक्ष तिलक थापाले बताए । जिल्ला फुटबल संघ कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ रुपैयाँ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक सुशिल सिंह ठकुरीले बताए । 

जिल्ला फुटबल संघको आयोजनामा बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा फागुन १४ गते सुरु भएको गोल्डकपको फाइनल फागुन २१ गते हुनेछ ।

मनोज

Link copied successfully