राष्ट्रिय करातेमा पुलिसले थप्यो ६ स्वर्ण

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Police added 6 golds in National Karate

काठमाडौँ — चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शनिबार कुमुतेतर्फ पुलिसले ६ स्वर्ण र एपीएफले १ स्वर्ण जितेका छन् ।

१२ वटा स्वर्णको छिनोफानो हुँदा पुलिसले १०, आर्मी र एपीएफले १–१ स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित कराते एकेडेमीमा शनिबार ७५ केजी तौल समूहमा १३ औं दक्षिण एसियाली खेलकुदका कांस्य विजेता पुलिसका राजीव पुडासैनीले स्वर्ण जिते । उनले सुदूरपश्चिमका योगेशसिंह बिष्टलाई हराए । आर्मीका शिबु ओड र रुरेहाङ डुमी राईले कांस्य जिते ।

६७ केजीमुनि तौल समूहमा पुलिसका सन्तोष श्रेष्ठले एकपक्षीय फाइनलमा गण्डकीका सक्षम लामालाई ९–० अंकले हराएर स्वर्ण जिते । सुदूरपश्चिमका खड्ग थामीमगर र कोशी प्रदेशका मनीष बिक तेस्रो भए । पुलिसका साजन मोक्तानले ५० केजीमा स्वर्ण जिते । उनले फाइनलमा बागमतीका लेखराज घिमिरेलाई फाइनलमा ७–५ अंकले हराए । गण्डकीका बोमिन गुरुङ र मधेश प्रदेशका सोहन मगरले तेस्रो स्थानमा चित बुझाए ।

८४ केजी पुरुषतर्फ एपीएफका मोहम्मद शेखु आलमले स्वर्ण जिते । उनले फाइनलमा कोशीका धन राईलाई ९–२ ले हराए । उनी एसियाली खेलकुदमा खेलेका खेलाडी हुन् । आर्मीका सुरेश जप्रेल र बागमती प्रदेशका सलमान मोहम्मदले कांस्य जिते ।

महिला ५५ केजीमा पुलिसकी पुष्पकला लामाले स्वर्ण जित्ने क्रममा कर्णाली प्रदेशकी प्रियंका शाहीलाई ५–० ले हराइन् । गण्डकीकी प्रभा राई र सुदूरपश्चिमकी गरिमा मल्ल तेस्रो भए । ४५ केजीमा पनि पुलिसकी वर्षा बुढा मगर पहिलो विजेता भइन् । उनले लुम्बिनीकी पूजा राईलाई ११–३ ले हराइन् । गण्डकीकी सबुना राना मगर र आर्मीकी ममता महर्जन तेस्रो भए ।

६१ केजीमा प्रहरीकी निरुपा दोङ तामाङलेस्वर्ण जितिन् । उनले फाइनलमा सुदूरपश्चिमकी सोनिया तिरुवालाई ९–१ ले हराइन् । एपीएफकी रमिता माझी र कोशीकी धनकुमारी मगरले कांस्य हात पारे ।

आइतबार ५ स्पर्धामा फाइनल हुनेछ । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य जित्ने खेलाडीले सिधै राष्ट्रिय कराते टोलीको छनोट खेल्न पाउनेछन् ।‌

कान्तिपुर

Link copied successfully