चितवन — गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जितेको छ । भरतपुरस्थित कृष्णपुर खेल मैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बीले त्रिभुवन आर्मी क्लबलाई १२–७ स्कोरले पराजित गरेको थियो ।
निर्धारित समय ७–७ स्कोरले बराबरी भएको थियो । त्यसपछि थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो । गोर्खालीका कप्तान यदु अधिकारीले गोल्डन स्कोर गरे ।
जितसँगै विजेता टोलीले २ लाख रुपैयाँ जितेको छ । नेपाली रग्बी खेलको इतिहासमा यो सर्वाधिक राशी हो । उपविजेता आर्मी क्लबले १ लाख रुपैयाँ पायो । गोर्खाली रग्बीका भारतीय खेलाडी जावेद हुसेन उत्कृष्ट खेलाडी भए ।
यसअघि शनिबारै सेमिफाइननलमा आर्मीले कर्णाली प्रदेशलाई १७–१२ स्कोरले हराएको थियो । निर्धारित समय १२–१२ स्कोरमा बराबरी भयो । खेलको अन्तिम समयमा कर्णालीले एउटा सहज कन्भर्जनमा पाएको २ स्कोर गर्न चुक्दा टोलीको फाइनल पुग्ने अवसर गुमायो । त्यसपछि थप समयमा आर्मीले गोल्डन स्कोर गर्दै फाइनलमा स्थान बनाएको हो ।
दोस्रो सेमिफाइनलमा आयोजक गोर्खाली रग्बीले एपीएफ क्लबलाई २९–० स्कोरले सहजै हरायो । सुरुदेखि हाबी हुँदै गोर्खाली क्लबले एकतर्फी स्कोर गरेको हो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, राइट पथका एमडी फिलिप केसी, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले पुरस्कार गरे ।
