वीरगन्ज — वीरगन्ज गोल्डकपको दोस्रो संस्करणको पहिलो खेलमा वीरगन्ज युनाइटेडले गढवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई १–० ले पराजित गरेको छ । खेलको ५२ औं मिनेटमा गढवालका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेका थिए । युनाइटेडका खेलाडीले प्रहार गरेको बल रानाले रोक्न खोज्दा बल पोस्टमा गएको थियो । त्यही आत्मघाती गोल नै खेलको निर्णायक साबित भयो ।
खेलको २० औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टी मिस भएको थियो । युनाइटेडका कप्तान शिस थापाले प्रहार गरेको पेनाल्टी सट पोस्ट बाहिर गएको थियो । पहिलो हाफ गोलरहित सकिएको थियो । दुवै टोलीले रोचक प्रतिस्पर्धा गरेका थिए । इन्जुरी समयसम्म गढवालका खेलाडीले गोल फर्काउन आक्रमक प्रयास गरेका थिए ।
हारसँगै दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
'म्यान अफ दि म्याच' घोषित भएका युनाइटेड क्लबका विपिन मगरले नगद १० हजार रुपैयाँ प्राप्त गरे । आइतबारको खेल संकटा क्लब काठमाडौं र सहलेश फुटबल क्लब सिरहाबीच हुने आयोजकले जनाएका छन् ।
मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको दोस्रो संस्करणको उद्घाटन वीरगन्जका मेयर राजेशमान सिंहले गरेका थिए । भेट्रान्स सिटी क्लबको आयोजनामा वीरगन्जको आदर्शनगर रंगशालामा फागुन १७ देखि २४ गतेसम्म आयोजना हुने गोल्डकपमा नेपाल र भारतका आठवटा टिमले प्रतिस्पर्धा गर्नेछन् । गोल्डकपको दोस्रो संस्करणमा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बाग्मती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र वीरगन्ज युनाइटेड क्लबले सहभागिता जनाएका छन् ।
गोल्डकप उपाधि विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् । सर्वोकृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ । बेस्ट किपर र बेस्ट कोचका लागि पनि नगद राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । यसैगरि प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड सात लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।
वीरगन्ज महानगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । गोल्डकप आयोजनाका लागि आदर्शनगर रंगशालामा अस्थायी प्याराफिट निर्माण गरिएको छ । नारायणी रंगशाला जीर्ण रहेकाले गोल्डकप आदर्शनगर रंगशालामा आयोजना गरिएको हो । गत वर्ष सम्पन्न भएको गोल्डकपको पहिलो संस्करण विभागीय टोली नेपाल पुलिस क्लबले विजयी भएको थियो ।
