भीमनारायण गोल्डकप चैत दोस्रो साता

फाल्गुन १७, २०८१

रमेशचन्द्र अधिकारी

Bhimnarayan Gold Cup Chait second week

धनकुटा — सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण आगामी चैत १७ देखि सञ्चालन हुने भएको छ । आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टिम सहभागी हुने छन् । प्रतियोगिताका खेलहरु धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन हुने आयोजक समिति संयोजक शम्भू प्रधानले जानकारी दिए । 

विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् । यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् । 

प्रतियोगिता सञ्चालनबारे प्रतिष्ठानको शनिबार आयोजित बैठकले मिति तय गरेको हो । बैठकले विभिन्न १० वटा उपसमितिसमेत गठन गरेको छ । जसमा आर्थिक, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन, मञ्च, सुरक्षा, स्वयंसेवक तथा प्राथमिक उपचार व्यवस्थापन उपसमिति गठन गरिएको संयोजक प्रधानले बताए । प्रतियोगिताका खेल हेर्न निःशुल्क व्यवस्था गरिएको छ । अघिल्लो वर्ष सम्पन्न १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापा फुटबल क्लबले हात पारेको थियो । 

२०५५ देखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा ०३५ मा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully