प्रीतिलाई एक लाखसहित सर्वोत्कृष्ट खेलाडी सम्मान

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Best player award with one lakh to Preeti

काठमाडौँ — राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीबाट सम्मानित भएकी छन् । योङ स्टार फाउन्डेसनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा शनिबार प्रीतिलाई १ लाख रुपैयाँसहित सम्मानित गरेको हो ।

प्रीतिलाई फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले सम्मानित प्रदान गरे । उनलाई राष्ट्रिय महिला लिगमा एपीएफलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेबापत सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट भएसँगै प्रीतिले यस किसिमको सम्मानले आम खेलाडीलाई उर्जा दिने र भविष्यमा देशका लागि सशक्त प्रदर्शन गर्न हौसला मिल्ने बताइन् ।

‘यस किसिमको सम्मानले हामी खेलाडीलाई उर्जा मिल्छ । यसले देशका लागि खेल्न थप प्रेरणा त दिन्छ नै खेलेर पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिन्छ,’ प्रीतिले भनिन् ।

पूर्वफुटबलर ललितविक्रम शाह, पूर्वएथलेटिक्स प्रशिक्षक मधु शमशेर जबरा, वरिष्ठ खेल पत्रकार श्याम चित्रकार, अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पहिलो कप्तान रमा सिंह, एनएसजेएफका उपाध्यक्ष सञ्जिव सिल्पकार, महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामालगायतको उपस्थिति उक्त अवार्ड प्रदान गरिएको हो ।

अध्यक्ष सिंहले प्रीति जस्तो उदीयमान खेलाडीलाई सम्मानित गर्न पाउँदा आफ्नो संस्थाले गौरवान्वित महसुस गरेको बताए ।  

सन् २०२१ मा उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेकी प्रीतिले ५ गोल गरेकी छन् । उनले एक वर्षको अन्तरमा देशका लागि तीन अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेकी छन् ।

वाफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा प्रीतिको प्रदर्शन चर्चायोग्य थियो । उनको गोलमा गोलमा नेपाल फाइनल पुगेको थियो । 

कान्तिपुर

Link copied successfully