कपिलवस्तु — मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार दोस्रो क्वाटरफाइनलमा हिमालयन शेर्पालाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुग्यो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । त्यसमा मछिन्द्रका लागि सौरभ सुब्बा, असिम गुरुङ र पूजन श्रेष्ठले गोल गरे भने पदम श्रेष्ठको प्रहार पोलमा ठोक्किएर बाहिरियो ।
हिमालयन शेर्पाका उमेश कार्की, अश्विन घोरासैनी र राज कुँवरको प्रहार मछिन्द्रका गोलकिपर सन्तोष महतले रोकेका थिए । मछिन्द्रको जितमा नायक बनेका गोलकिपर सन्तोष महत प्लेयर अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
शुक्रबार थ्रीस्टार र हनामी बीएफसी चितवनबीच खेल हुने आयोजक जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले बताए । उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।
