सुश्रुत बने कोशी प्रदेश चेस विजेता

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Sushruta became the Koshi Pradesh Chess Champion

विराटनगर — क्यान्डिडेट मास्टर सुश्रुत दाहालले प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत भएको बुद्धिचाल प्रतियोगितामा ७ अंक जोड्दै उपाधि जितेका छन् ।

शुक्रबार सम्पन्न ८ चरणको खेलबाट झापाका २०२१ रेटेड सुश्रुतले अग्रता बनाएर उपाधि जिते । निकट प्रतिस्पर्धी खोटाङका १८८७ रेटेड धिरेन राई ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ अंकका आधारमा दोस्रो भए ।

विराटनगरस्थित मारवाडी सेवा सदन सभाकक्षमा भएको स्पर्धामा समान ६.५ अंक बनाई १९३२ रेटेड प्रकाशचन्द्र नेपाल बुकोल्ज्स् ३८ अंकसहित तेस्रो स्थानमा रहे ।

झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा चलेको बुद्धिचाल खेलमा ६.५ अंक बनाई १९२२ रेटेड रिसोन थापा चौथो र १९८२ रेटेड राजन सुवेदी पाँचौ स्थान रहे ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा भएको प्रतियोगिता विजेताले ५० हजार, दोस्रो २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार रुपैयाँ जिते । 

पूर्व नेपाल च्याम्पियन राजन सुवेदी ६ अंक जोडेर विश्वविजय घिमिरे छैटौं, ५.५ अंकका हिमाल राई सातौं, राजेन्द्र राई आठौं, मिसन दाहाल नवौं र चूडामणि कुलुङ राई दस्रौं स्थान रहे । उनीहरू समान ५ हजार पुरस्कार पाए । महिलातर्फ शान्ति धिमाल पहिलो, सुशीला गुरुङ द्वितीय र कृतिसारा अधिकारी तेस्रो भए । सिनियर खेलाडीतर्फ वसन्त लामा प्रथम र मणिराज डाँगी द्वितीय भए । अनरेटेडतर्फ कुशल भण्डारी पहिलो र इकेश नेपाल दोश्रो भए । १८ सय रेटेडमुनि महेन्द्रकुमार सम्बाहाम्फे प्रथम र बलबहादुर तामाङ द्वितीय, यू–१६ मा आयाम श्रेष्ठ र अग्रिम खड्का, यू–१४ श्रीयश चौलागाईं र महेश दवाडी र यू–१२ मा प्रविशा दवाडी र सम्वत खतिवडा पहिलो र दोस्रो भए ।

कान्तिपुर

Link copied successfully