राष्ट्रव्यापी खुला यलम्बर ब्याडमिन्टन चैतमा

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Nationwide Open Yalmber Badminton in March

काठमाडौँ — नखिपोट युथ क्लबले नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैतमा गर्ने भएको छ ।

प्रतियोगिता चैत १ देखि ४ सम्म नखिपोटस्थित आफ्नै कभर्डहलमा हुने आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा ६ स्पर्धामा करिब २ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले बताए । कुल पुरस्कार राशि ३ लाख ८५ हजार रुपैयाँ रहेको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।

पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरुष सिंगल्समा शीर्ष ८ वरीयतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन् । यू–१७ पुरुष सिंगल्सका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५–५ हजार जित्नेछन् । शीर्ष २० वरीयताबाहेकका खेलाडीको पुरुष डबल्सका विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०–१० हजार पुरस्कार जित्ने छन् ।

मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले ७ हजार ५ सय पाउने छन् । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १० पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च हुने कोषाध्यक्ष राईले बताए । फागुन २७ सम्म सहभागीले नाम दर्ता गराउनेपर्ने क्लबले जनाएको छ ।

कान्तिपुर

Link copied successfully