रुपन्देही — संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमाको एक्स्ट्राटेक क्रिकेट मैदानको अवलोकन गरेको छ । समितिले सिद्धार्थ क्रिकेट रंगशाला निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
समितिका सभापति अम्मरबहादुर थापाले वर्षौंसम्म मैदान निर्माणको कामलाई अलपत्र पार्न नहुने भन्दै खेलका लागि आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए । ‘जग्गा अधिग्रहण र डीपीआरअनुसार बजेट व्यवस्थापनमा समस्या देखियो’, उनले भने, ‘सरकारले यस्ता विषय प्राथमिकीकरण गर्न जरुरी छ , यसमा समितिले पहल गर्छ ।
थापाले आउँदो बजेटमा सिद्धार्थ क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्न खेलकुद मन्त्रालयलाई सुझाव दिने जनाए । ‘आवश्यक परे मैदानको स्तरोन्नतिको काम सक्न निर्देशनसमेत दिन्छौं’, उनले भने, ‘क्रिकेट संघले गर्नुपर्ने कामबारे प्रतिवेदन दिएको छ । त्यसलाई कार्यान्वयन गर्न पहल हुन्छ ।
संसदीय समितिका सदस्यहरु रेखा शर्मा, ईश्वरी घर्ती, छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल ,सरिता भुसाल, ज्ञानु बस्नेत सुवेदीलगायतले बोल्दै निरीक्षणका क्रममा केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको र डीपीआर अनुसार हुनुपर्ने काम बांकी रहेकाले त्यसलाई पूरा गर्न समितिले आवश्यक कदम चाल्ने जनाए । ‘हामीकहाँ योजना लामो समय अलपत्र पार्ने प्रचलन बढेको छ’, उनीहरुले भने, ‘यसले लागत बढ्ने गरेको छ , यो गम्भीर विषय हो ।
सदस्यहरुले रंगशाला व्यवस्थापन राम्रो देखिए पनि डीपीआरअनुसार काम हुन नसक्नु सरकारी कमजोरी भएको जनाए । उनीहरुले तत्काल बजेट व्यवस्थापन र आवश्यक कदम बारे काठमाडौं फर्किएपछि पहल गर्ने बताए । बहुवर्षीय ठेक्का नहुँदा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्याउँदा क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सुरु गरेको डेढ दशकमा १६ प्रतिशत हाराहारी मात्र काम भएको छ । २०६८ सालमा भैरहवा र मूल पानीमा अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएको थियो ।
मूलपानीमा अन्तर्राष्ट्रिय खेल हुन्छन्, हामीकहाँ बजेट विनियोजन नै रोकियो, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले भने । ‘यसको लागत बढेर दोब्बरसमेत भएको छ’, उनले भने, ‘समितिको पहलले अब कामले गति लिने हाम्रो अपेक्षा छ ।’ थापाले बजेट पर्याप्त भए छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउन सकिने जनाए ।
समितिले बिहीबार मात्रै रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रबाट निर्माण भइरहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको समेत निरीक्षण गरी छलफल गरेको थियो ।
