चौथो लखनकप भलिबलको उपाधि गलकोटलाई

फाल्गुन १६, २०८१

प्रकाश बराल

Fourth Lucknow Cup volleyball title to Galkot

बागलुङ — चौथो संस्करणको लखनकप भलिबलको उपाधि ए एन्डमार्ट गलकोट नगरपालिकाको नरेठाँटीले जितेको छ । ४३ औं मगर संघ स्थापना दिवसका अवसरमा नेपाल मगर संघ बागलुङले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा पर्वतको पकुवा भलिबल संघलाई पराजित गर्दै गलकोटले उपाधि जितेको हो ।

बिहीबार भएको फाइनलमा गलकोटले २२–२५, २६–२४, २१–१९ को स्कोरमा जित निकालेको हो । बेस्टअफ ५ को खेल भए पनि पकुवाले तेस्रो खेलमै वाकओभर दिएको थियो । खेल जितेर गलकोटले ८१ हजार १ सय ८१ रुपैयाँ नगद, ट्रफी र मेडल हात पार्‍यो । पकुवाले ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कारमा चित्त बुझायो । प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । साबिकको धौलागिरि क्षेत्रका चार जिल्लाका टिमहरु खेलमा सहभागि थिए ।

खेल प्रतियोगिता गर्न संघले ४ लाख रुपैयाँ खर्च गरेको आयोजकले बताएको छ ।

मगर संघ स्थापना दिवसकै अवसरमा आयोजित पुरुष छेलोतर्फ दुजिक थापा प्रथम भए भने बलबहादुर आले दोस्रो बने । थापाले ८ हजार र आलेले ४ हजार नगद पुरस्कार पाए । महिलातर्फ भीममाया पुन प्रथम र विष्णु पुन द्वितीय भइन् । प्रथम हुनेले ५ हजार र द्वितीय हुनेले २ हजार ५ सय नगद पुरस्कार पाए ।

संघले आयोजना गरेको लठ्ठो तान्ने प्रतियोगितामा बागलुङ कालीका युवा क्लबले प्रथम भएर ५ हजार पुरस्कार पायो भने कुलबहादुर रानाको समूह दोस्रो भएर ३ हजार नगद पुरस्कार पायो । महिलातर्फ विष्णु पुनको सम्हु प्रथम र बडिगाड गाउँपालिकाको समूह द्वितीय भयो । प्रथम हुनेले ४ र दोश्रो हुनेले २ हजार नगद पुरस्कार पाएको मगर संघ बागलुङका अध्यक्ष श्यामकुमार थापाले जानकारी दिए । दिवस र खेल प्रतियोगिता ५ दिनदेखि सञ्चालन भएको थियो ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully