आयोजक गोर्खालीसहित आर्मी, कर्णाली र एपीएफ सेमिफाइनलमा

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Army, Karnali and APF in the semi-finals along with host Gorkhali

चितवन — प्रथम गोर्खाली रग्बी सेभेन्स प्रतियोगितामा आयोजक गोर्खाली रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र एपीएफ क्लब सेमिफाइनल पुगेका छन् ।

भरतपुरस्थित कृष्णपुर खेल मैदानमा शुक्रबार लिग चरणको खेलपछि लुम्बिनी, मधश र गण्डकी प्रदेश टिम बाहिरिए । कुल सात टोलीबीच दुई समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा समूह ए बाट आयोजक गोर्खाली र कर्णाली प्रदेश सेमिफाइनल पुगे । आयोजकले लिगको दुवै खेल जितेर समूह विजेता बन्यो । गोर्खालीले गण्डकी प्रदेशलाई २२–० ले र कर्णाली प्रदेशलाई २२–७ स्कोरले हरायो । कर्णालीले भने गण्डकी प्रदेशलाई २६–५ स्कोरले पराजित गरेको थियो ।

समूह बी बाट त्रिभुवन आर्मी लिगका तीनै खेल जित्दै समूह विजेता बन्यो । टोलीले एपीएफलाई ३४– ५ ले, लुम्विनी प्रदेशलाई ४३–० ले र मधेश प्रदेशलाई ४३–० स्कोरले पराजित गरेको थियो । समूह उपविजेता बनेको एपीएफले भने मधेश प्रदेशलाई २४–५ ले र लुम्बिनी प्रदेशलाई ४५–० ले हराएको थियो ।

मधेशले लुम्विनी प्रदेशलाई २४–७ ले पराजित गर्दा लुम्बिनीले भने लिगको तीनवटै खेल गुमायो ।

शनिबार सेमिफाइनलमा गोर्खाली रग्बीले एपीएफ र आर्मीले कर्णाली प्रदेशसँग खेल्नेछ । शनिबार नै फाइनल हुनेछ ।

प्रतियोगिताको बागमती प्रदेशका सांसद ईश्वर सापकोटाले ट्रफी अनावरण गर्दै उद्घाटन गरेका थिए । उनले नेपालमा रग्बी खेल तीव्र गतिमा अगाडि बढिरहेको चर्चा गर्दै स्थानीय तहमा यसको प्रभाव राम्रो पर्न थालेको बताए । गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्कीले आगामी वर्ष प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरुप दिने बताए । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले १४ औं दक्षिण एसियाली खेलकुदमा रग्बीले नेपालका लागि पदक जित्ने विश्वास जनाए ।

प्रतियोगिता विजेता टोलीले २ लाख र उपविजेताले टोलीले१ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully