काठमाडौँ — तेजस्वी एकेडेमी र वेलमन्ट स्कुलले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । तेजस्वी सिनियर ब्वाइज र वेलमन्ट गर्ल्समा च्याम्पियन भएका थिए ।
ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइज फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० स्कोरले पराजित गर्यो । तेजस्वीका विराज गुरुङले १२ स्कोर जोडे । नवोदितले वेलमन्टलाई २५–१३ ले हराएर तेस्रो स्थान हात पार्यो । नवोदितका आदेश बगालेले १२ स्कोर गरे ।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा वेलमन्टले ल्यान्डमार्कलाई १३–११ ले हरायो । विजेताकी जेशिका गुरुङले ७ स्कोर जोडिन् । ह्वाइट हेभेनले संस्कृति शिक्षासदनमाथि १३–१२ को जितसहित तेस्रो स्थान हात पार्यो । हेभेनकी कल्पना ओलीले ७ स्कोर गरिन् ।
ब्वाइजमा तेजस्वीका दिपेन छन्त्याल र गर्ल्समा वेलमन्टकी समीक्षा पुन मगर ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा तेजस्वीका आयुश अधिकारी र गर्ल्समा ल्यान्डमार्ककी सगुनी देवकोटा सर्वाधिक स्कोरकर्ता भए । आयुशले ५७ र सगुनी ३२ स्कोर गरे ।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा, टप्सका अध्यक्ष भरतमणि पोखरेल, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठ, टप्सका इसीए को–ओर्डिनेटर थिरबहादुर बस्नेतलगायतले पुरस्कृत गरे ।
