झापा — झापा एघार एफसीले बुधबार मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता भद्रपुर झापा गोल्डकपको फाइनल पुगेको छ । झापाले सेमिफाइनलमा पाहुना टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरेको थियो ।
मेची रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा झापाले दुई गोल थप्दै सहज जित निकालेको हो । उपाधिका लागि झापाले आयोजक भद्रपुर ब्लेजर्ससँग फागुन १६ मा प्रतिस्पर्धा गर्नेछ । भद्रपुर पनि बंगलादेशी टोलीलाई हराएर फाइनल पुगिसकेको छ ।
झापाका एरोन थापाले खेलको ५५ औं मिनेटमा २५ यार्डबाट शक्तिशाली फ्रिकिक प्रहार गर्दै टोलीलाई अग्रता दिलाए । भुटानका सुरज रसाइलीले ८४ औं मिनेटमा व्यक्तिगत प्रयासमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याएका थिए । अतिरिक्त समयमा झापाले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दुई गोल थप्यो । रोहन कार्कीले ९१ औं मिनेटमा गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । अन्तिमतिर हरिबहादुर आले मगरले समीर तामाङको पास सदुपयोग गर्दै निर्णायक गोल गरे ।
खेलभर भुटानले केही राम्रा अवसर सिर्जना गरे झापाका गोलकिपर सन्दीप लिम्बूको उत्कृष्ट प्रदर्शनका कारण गोल हुन सकेन । प्लेयर अफ द म्याच झापाका एरोन थापा चुनिए । उनले २१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
