चितवन — स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने नारासहित भरतपुर–७ कृष्णपुरस्थित खेलकुद मैदानमा शुक्रबारदेखि दुईदिने रग्बी सेभेन्स पुरुष राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।
गोर्खाली रग्बी क्लबले नेपाल रग्बी संघको प्राविधिक सहयोगमा आयोजना गर्ने प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, मधेश प्रदेश तथा आयोजक क्लबका एक–एक टिमसहित नेपाल आर्मी र सशस्त्र प्रहरीको गरी सात टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्ने कार्यक्रम छ ।
चितवनमा दोस्रोपटक हुन लागेको रग्बी प्रतियोगिता विजेताले २ लाख र दोस्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो नेपालमा भएको रग्बीको सबैभन्दा ठूलो पुरस्कार राशि हो । सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने रग्बी संघ चितवनका अध्यक्ष सुमन पौडेलले बताए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष हरेराम कार्कीले हरेक टोलीले ५ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिए पनि प्रतियोगितामा कर्णाली प्रदेशले तीन र आयोजकले दुई विदेशी खेलाडी सहभागी गराउने जानकारी गराए ।
क्लबले ‘खेलसँगै पर्यटन’ को अवधारणाअनुसार आगामी वर्ष विदेशी टिमसहितको प्रतियोगिता गर्ने तयारी गरेको र यस वर्षको प्रतियोगिता पनि विश्व रग्बीको नियमअनुसार सञ्चालन गरिने जनाइएको छ ।
प्रत्येक खेलको समयावधि १४ मिनेटको रहने तथा ७ मिनेटमा हाफ भएपछि दुई मिनेटको ब्रेक हुने तथा एउटा समूहमा १२ जना रहने भए पनि प्रत्येक टिमबाट सात/सात खेलाडीले स्पर्धा गर्ने राष्ट्रिय प्रशिक्षक तथा गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।
तालिकाअनुसार समूह ‘ए’ मा एपीएफ टोली, आर्मी टोली, मधेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा गण्डकी, कर्णाली प्रदेश र आयोजक गोर्खाली रग्बी क्लब छन् ।
प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा अङ्कुरम एकेडेमी, मेडिकल पार्टनर चितवन मेडिकल कलेज, ट्राभल पार्टनर होलिडे ट्रिप नेपाल, क्लोथिङ पार्टनरमा थ्रेड गार्मेन्ट र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन छन् ।
