कपिलवस्तु — जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता जितपुरस्थित बुद्ध रंगशालामा सुरु भएको छ ।
जिल्लाको पर्यटकीय आकर्षणलाई खेल पर्यटनका माध्यमबाट प्रचार गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन खेल संकटा एफसीले शून्यका विरुद्ध एक गोल गरेर विजयी भएको छ । पहिलो र दोस्रो हाफ गोलरहित बराबरीमा सकिएपछि थप गरिएको दुई मिनेट समयमा गोल गर्दै कपिलवस्तु ११ लाई संकटाले १–० गोलले पराजित गरेको हो । निकै रोमाञ्चक भएको खेलमा उत्तम शाहीले गोल गर्दै संकटालाई जित दिलाए । संकटाको जितमा नायक बनेका उत्तम नै खेलका ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
योसँगै कपिलवस्तु ११ प्रतियोगिताबाट बाहिरिएको छ भने संकटा सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार दिउँसो ३ बजे मछिन्द्र एफसी र हिमालयन शेर्पाबीच दोस्रो खेल हुनेछ । प्रतियोगिताको प्रतियोगितामा कपिलवस्तु–११, संकटा एफसी, मछिन्द्र क्लब काठमाडौं र हिमालयन शेर्पा सहभागी छ । त्यस्तै, नेपाल पुलिस, थ्री स्टार क्लa, बीएफसी चितवन र जोन्जी एफसी सिक्किम भारत गरि ८ वटा टोलीको सहभागिता रहेको जिल्ला फुटवल संघ अध्यक्ष तिलक थापाले बताए । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा गोल्डकप फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।
गोल्डकपको उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउने जिल्ला फुटबल संघ कोषाध्यक्ष गणेशबहादुर सिंह ठकुरीले बताए । विभिन्न विधागत रुपका उत्कृष्ट खेलाडीलाई ३०/३० हजार, प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ हुने खेलाडीलाई १० हजार र गोल्डकपकै सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार प्रदान गरिने बताए । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए ।
