स्रोवन र प्राचीलाई टेबलटेनिस स्वर्ण

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Table tennis gold to Srovan and Prachi

काठमाडौँ — भारतीय टिस्टा तोर्सा टेबलटेनिस क्लबका स्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यू–१६ सिंगल्सको ब्वाइजतर्फ स्रोवन र गर्ल्समा प्राची विजेता भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा स्रोवनले एभीएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ ले पराजित गरे । उनले २–० ले पछि परेको स्थिति उल्टाएर नतिजा आफ्नो पक्षमा पारेका हुन् । स्रोवनले ६–११, १२–१४, ११–८, ११–८, ११–८ ले खेल जिते । ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वरदान र यलका अर्नव श्रेष्ठ तेस्रो भए ।

गर्ल्सको उपाधि भिडन्तमा प्राचीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रवर्तीलाई ११–१, ११–९, ११–४ ले सहजै पराजित गरिन् । नेपाल पुलिस क्लबकी शुभश्री श्रेष्ठ र टिस्टा टोर्साकी श्रुति दास तेस्रो भए ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा यससँगै ४ स्वर्णको टुंगो लागेको छ । यसअघि टिम इभेन्टको पुरुषमा ललितपुर टेबलटेनिस क्लब र महिलामा ग्लोबलले स्वर्ण जितेको थियो । ९ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

कान्तिपुर

Link copied successfully