सूर्य नेपाल एनपीजीए टुर : तोरणको अग्रता कायमै

फाल्गुन १४, २०८१

कान्तिपुर संवाददाता

Surya Nepal NPGA Tour: Toran's lead remains

काठमाडौँ — गल्फर तोरणविक्रम शाहीले दोस्रो दिन पनि सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा ४ अन्डर ६८ को स्कोरसहित शीर्षस्थान कायमै राखेका छन् । समग्रमा ११ अन्डर १३३ सहित उनले नीरज तामाङलाई ३ स्ट्रोकले पछि पारेका छन् ।

धरानका प्रो नीरजले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाए । उनी ५ अन्डर ६७ सहित समग्रमा ८ अन्डर १३६ को स्कोरसहित दोस्रो स्थानमा छन् । समग्रमा २ अन्डर १४२ को स्कोर बनाएका टंकबहादुर कार्की र दिनेश प्रजापति तेस्रोमा उक्लिए । दुवैले समान इभन पार ७२ मा खेल टुंग्याए ।

नेपाल नम्बर एक भुवन नगरकोटी, रमेश अधिकारी र जयराम श्रेष्ठ समग्रमा १ अन्डर १४३ सहित संयुक्त पाँचौं स्थानमा रहे । भुवनले २ अन्डर ७०, रमेशले १ अन्डर ७१ र जयरामले १ ओभर ७३ को स्कोर बनाए ।

तोरणले फ्रन्टनाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ३ अन्डर ३३ मा खेल टुंग्याए । पहिलो होलमा बोगी प्रहार गरे पनि दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी गरे । ब्याकनाइनमा १ अन्डर ३५ को स्कोर निकाले । १० र १२ औं होलमा बोगी खेपे पनि तोरणले पुनरागमन जनाएर १३, १७ र १८ औं होलमा बट बचाए ।

उत्कृष्ट स्कोर निकालेका नीरजले बोगीरहित खेले । फ्रन्टनाइनमा ४ अन्डर ३२ को गतिलो प्रदर्शन गर्दा ब्याकनाइन १ अन्डर ३५ मा सके । यो क्रममा उनले ५ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा एक शट बचाएका उनले पाँचौंदेखि सातौं होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १२ औं होलको बर्डीले ५ अन्डरको स्कोर तयार पार्दै तोरणलाई दबाब दिएका छन् ।

एमेच्योरतर्फ राहुल विश्वकर्मा र डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्य इभन पार १४४ सहित संयुक्त शीर्षस्थानमा छन् । राहुलले ३ अन्डर ६९ को स्कोर निकाले । दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरेका उनले आठौं होलमा बोगी खेपे । फ्रन्टनाइन २ अन्डर ३४ मा सके । यसपछि ११ र १२ औं होलमा शट बचाए । ४ पारको १४ औं होलमा इगलको सफलता पाए । तर १३, १६ र १७ औं होलको बोगीले ब्याकनाइन १ अन्डर २५ मा पूरा । सदभावले भने इभन पार ७२ को स्कोर गरे ।

३६ होलको समाप्तिमा १३ ओभर १५७ स्कोर गरेका २२ प्रोफेसनल र ४ एमेच्योर २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, सुनिल केसी,  दीपक मगर, भूबहादुर गुरुङ, बलभद्र राई, धनबहादुर थापा, रवि खड्का, सुरेश तामाङ, शिवराम पौडेल, भीमसेन चौलागाई र राजेन्द्र श्रेष्ठले कट बनाए । एमेच्योरतर्फ राहुल र सदभावसँगै बाबु पौडेल र कवि थापाले कट बनाएका थिए ।

कान्तिपुर

Link copied successfully