रोल्पा — सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबले जितेको छ । लिवाङमा बुधबार भएको फाइनलल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जितेको हो । पुलिसले पहिलो सेट २५–१८, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२३ ले जितेको हो ।
उपाधिसँगै पुलिसले ५ लाख राशिको पुरस्कार र सन स्टार कप प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाख ५० हजार पाएको छ ।
बुधबार नै सम्पन्न पहिलो खेलमा लुम्बिनीलाई हराउँदै कोशी प्रदेशले तेस्रो स्थान प्राप्त गर्यो । तेस्रो कोशी र चौथो भएको लुम्बिनीले क्रमशः १ लाख र ५० हजार रुपैयाँ पुरस्कार पाए ।
यस्तै उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, ब्लकर, सेटर लगायतको विधामा पनि खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जनाए । क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा ‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारासहित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा ४ प्रदेशका टिमसहित आर्मी र पुलिस र आयोजक टिमको सहभागिता थियो ।
परिवर्तनले जित्यो महिला खेलको उपाधि
जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि भने परिवर्तन गाउँपालिकाको महिला भलिबल टिमले प्राप्त गरेको छ । दोस्रो, तेस्रो र चौथो स्थान क्रमशः सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका र लुङ्ग्री गाउँपालिकाले प्राप्त गरे । उनीहरूले क्रमशः ५५ हजार, ३५ हजार, १५ हजार पुरस्कार प्राप्त गरे भने सान्त्वना भएको टिमलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
