काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले मंगलबार केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्रले भुटानको एफसी ट्रान्सफोर्ट युनाइटेडविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।
खेलको एकमात्र गोल स्टेफेन जलीको नाममा रह्यो । उनले खेलको ८० औं मिनेटमा सनिश श्रेष्ठको क्रस उपयोगमा गरेको गोल निर्णायक बन्यो । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । मछिन्द्रले फाइनल पुग्नका लागि आयोजक केपी ओली एफसीको सामना गर्नेछ ।
अर्को सेमिफाइनलमा संकटाले त्रिभुवन आर्मीविरुद्ध खेल्नेछ । दिनको पहिलो खेलमा १० खेलाडीमा समेटिएको संकटा क्लबले एपीएफ क्लबलाई टाइब्रेकरमा ५–३ ले
पराजित गरेको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टी शुटआउटमा संकटाका लागि राम थापा, सुनिल खड्का, सन्तोष खत्री, साम कार्लोस र दीप कार्कीले गोल गरे । एपीएफका लागि भने सुमन श्रेष्ठ, दीपेश धिमाल र मणिकुमार लामाले मात्र गोल गरे । सुजन पुलामीको प्रहार संकटा गोलरक्षक दीप कार्कीले बचाएका थिए ।
