सूर्य नेपाल एनपीजीए टुर : तोरणको अग्रता

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Surya Nepal NPGA Tour: Toran's lead

काठमाडौँ — सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलबार तोरणविक्रम शाहीले गतिलो सुरुआत गरेका छन् । उनले ७ अन्डर ७५ को स्कोर कार्ड तयार पार्दै नीरज तामाङ र सञ्जय लामामाथि ४ स्ट्रोकको अग्रता बनाएका छन् । नीरज र सञ्जयले ३ अन्डर ६९ को स्कोर बनाए ।

दिनेश प्रजापति, जयराम श्रेष्ठ र टंक कार्की समान २ अन्डर ७० को स्कोरसहित चौथो स्थानमा छन् । रवि खड्का १ अन्डर ७१ सहित सातौं स्थानमा छन् ।

भूबहादुर गुरुङ, बलभद्र राई र रमेश अधिकारी तथा डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक एमेच्योर खेलाडी सद्भाव आचार्य इभन पार ७२ को स्कोरसहित  आठौं स्थानमा छन् ।

तोरणले दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा चार बर्डी प्रहार गरे । आठौं होलमा एक शट खेल फाल्दा उनले फ्रन्टनाइन ३ अन्डर ३३ मा सके । ब्याकनाइनमा उत्कृष्ट लय निरन्तर राख्दा बोगीरहित खेले । उनले ११, १३, १५ र १७ औं होलमा चार बर्डीको सफलता पाएर ४ अन्डर ३२ को प्रदर्शन गरे ।

लगातार दुई प्रतियोगिता जितेका नीरज तामाङले तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ३ अन्डर ३३ मा पूरा गरे । यसपछि ११ औं होलको बर्डीविरुद्ध १३ औं होलको बोगीले ब्याकनाइन इभन पार ३६ मा सके ।

सञ्जयले बोगीरहित फ्रन्टनाइनमा पहिलो, तेस्रो, चौथो र सातौं होलमा बर्डी प्रहार गरेर ४ अन्डर ३२ को उत्कृष्ट सुरुआत गरे । ब्याकनाइनमा भने उनले गतिलो प्रदर्शन गर्न सकेनन् । १ ओभर ३७ मा गरेका उनले १० औं होलको बोगीसहित ११ र १३ औं होलमा बर्डी प्रहार गरे । १६ र १८ औं होलमा एक–एक शट खेर फाल्दा नीरजसँग दोस्रो स्थान बाँड्न बाध्य भए ।

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले पार ३ को पाँचौं होलमा होल इन वन गरे पनि पहिलो दिन १ ओभर ७३ को स्कोर गरे । उनी रामे मगर, दीपक मगर र वसन्तराज गुरुङसँगै १२ औं स्थानमा छन् ।

सद्भाव एमेच्योरतर्फ राष्ट्रिय टिम सदस्य राहुल विश्वकर्मा र बाबु पौडेलभन्दा ३ स्ट्रोक अगाडि रहे । उनले इभन पार ७२ खेल्दा राहुल र बाबुले ३  ओभर ७५ को कार्ड तयार पारे ।

चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योर गल्फर प्रतिस्पर्धी छन् । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

कान्तिपुर

Link copied successfully