काठमाडौँ — आयोजक भक्तपुर निस्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा मंगलबार विजयी सुरुआत गरेको छ । घरेलु कोर्टमा निस्टले मल्पी स्कुललाई ३४–१६ स्कोरले हरायो ।
गर्ल्सकै अन्य खेलमा त्रियोगले ओम ज्ञान मन्दिरलाई १३–७ र चेल्सी वर्ल्डले तपोभूमिलाई २२–१० ले हराए ।
सिनियर ब्वाइजमा बौद्ध स्कुल (बीआईएस) ले निस्टलाई २४–१५ ले हरायो । गर्ल्समा जनप्रेमी वर्ल्ड ले बीआईएसलाई १५–१०, चेल्सीले निस्ट ‘बी’ लाई १०–३ र युरो स्कुल, कोटेश्वरले हिमालयलाई १५–१० ले पन्छाए ।
जुनियर ब्वाइज फुटबलमा गेटवे एकेडेमीले एमिनिटीलाई ६–२, भेदाङ्ग स्कुलले एभरेस्ट पब्लिकलाई ५–० र नालान्दा विद्यामन्दिरले कान्जिरोवा नेसनललाई ३–० गोलले पराजित गरे । काठमाडौं वर्ल्ड स्कुल र चेल्सी वर्ल्डले गोलरहित बराबरी खेले ।
प्रतियोगिताको निस्ट फाउन्डेनका अध्यक्ष माधवप्रसाद बराल, कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङ, प्रमुख कार्यकारी अधिकृत चन्द्र अधिकारी र संस्थापक प्रिन्सिपल दिलीप रानाले संयुक्त उद्घाटन गरे ।
प्रिन्सिपल रानाले यसपालिदेखि प्रतियोगितासँगै स्वच्छ वातावरणबारे सचेतना जगाउने उद्देश्यले क्लाइमेट च्याम्पियन उपाधिको पनि व्यवस्था गरिएको बताए ।
बास्केटबलको सिनियर ब्वाइजमा १४, सिनियर गर्ल्समा ९ र जुनियर गर्ल्समा १६ टिम सहभागी छन् । फुटबलमा २४ छात्र टिमले भाग लिएका छन् ।
