पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता : समूहचरणका खेल सम्पन्न, आज सेमिफाइनल

फाल्गुन १३, २०८१

काशीराम डाँगी

Men's National Volleyball Tournament: Group stage matches completed, semi-finals today

रोल्पा — शनिबारदेखि रोल्पामा जारी पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता रोचक बन्दै गएको छ । सोमबारबाट समूह चरणको खेल सकिएका छन् भने यस अन्तर्गत सहभागी टिममध्ये आयोजक सन स्टार टिम र मधेश प्रदेश टिम समूह चरणबाटै बाहिरिएका छन् ।

सोमबारको पहिलो खेलमा कोशी प्रदेशको टिमले मधेश प्रदेशलाई हरायो । ती खेलमा २५–११, २५–१२ र २५–१८ को सोझो सेटमा मधेशविरुद्ध कोशीले जितेको हो । 

दोस्रो खेलमा आयोजक टिम सन स्टारलाई नेपाल पुलिस क्लबले फराकिलो अन्तरले हरायो । यी दुई टिमको खेल अंक अनुपात २५–१४, २५–१० र २५–१३ रह्यो । आयोजक टिमलाई पुलिस क्लबले सोझो सेटमा पराजित गरेको हो । यी नतिजासँगै आयोजक टिमसँगै मधेश प्रदेश टिम समूह चरणबाटै बाहिरिए । यस अघि कर्णाली प्रदेश टिम पनि बाहिरिएको थियो।

सोमबारको समूह चरणको अन्तिम अर्को खेल लुम्बिनी प्रदेश टिम र त्रिभुवन आर्मी क्लब बीच सम्पन्न भयो । रोचक प्रतिस्पर्धामा भएको उक्त खेलमा पाँच खेलमध्ये तीनवटै खेल त्रिभुवन आर्मी क्लबले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको थियो । आर्मी क्लब र लुम्बिनी प्रदेश टिमबीच २५–२३, २७–२९, २५–१७ र २३–२५ अंक अनुपातमा खेल सम्पन्न भएका थिए ।

खेल चलिरहेका बेला लुम्बिनीका क्विकर–ब्लकर विकास गिरी घाइते भएका थिए । लोचन आलेले गिरीलाई रिप्लेस गरेपछि खेल जारी रह्यो । आर्मी र लुम्बिनी प्रदेश बीच रोचक ढंगले खेल भइरहेको बेला विवाद भएको थियो । पाँचौँ सेटको खेलमा लुम्बिनीले १४ र आर्मीले १५ अंक पाएको अवस्था थियो । त्यही बेला विवाद हुँदा वातावरण निकै तनावग्रस्त बन्यो । लुम्बिनीका कोचले रेफ्रीमाथि बोल्दा अपशब्द प्रयोग गरेको भन्दै रेफ्रीले कोचविरुद्ध रेड कार्ड थमाइदिएका थिए । 

रोल्पाको सनस्टार युवा क्लबको १३औँ वार्षिकोत्सव मनाउने उद्देश्यले आयोजना गरेको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय खेल हेर्न पाउँदा दर्शक उत्साहित छन् । प्रतियोगितामा सहभागी भएका सात टिममध्ये नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश टिम र लुम्बिनी प्रदेश टिमले सेमिफाइनल पक्का गरेका छन् । 

मंगलबार लुम्बिनी प्रदेश टिम र नेपाल पुलिस क्लब तथा कोशी प्रदेश टिम र त्रिभुवन आर्मी क्लबबीच सेमिफाइनल अन्तर्गतका खेलहरू हुनेछन् ।

विजेता पुरुष भलिबल टिमले ५ लाख रुपैयाँसहित सन–स्टार ट्रफी जित्नेछ । उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ जित्नेछन् । सान्त्वना हुने टिमलाई ५० हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष पूर्ण केसीले बताए ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully