झापा — डागा युनाइटेड फुटबल क्लब भुटानले सोमबार भद्रपुर झापा गोल्डकप आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । मेची रंगशालामा सोमबार चौथो क्वाटरफाइनल खेलमा भुटानी टिमले विभागीय टोली एपीएफ फुटबल क्लबलाई ३–२ गोलले पराजित गरेको हो । डागा युनाइटेडले सेमिफाइनलमा झापा–११ एफसीको सामना गर्नेछ ।
खेलको ३४ औं मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै भुटानी टिमलाई अग्रता दिलाए । सुरज रसाइलीले पेनाल्टी क्षेत्रभित्र एपीएफका तीन डिफेन्डरबाट बल खोसेर लाक्पालाई पास दिए । त्यसलाई लाक्पाले सुन्दर ढंगले गोलमा परिणत गरे । वसन्त नेवारको पासमा हेमराज भुजेलले ३६ औं मिनेटमा उत्कृष्ट वान टचमा गोल गर्दै भुटानको अग्रता दोब्बर बनाए ।
एपीएफका दीपेश धिमालले खेलको ५९ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । मणिकुमार लामाको कर्नर किकमा उनले हेडमार्फत गोल गरेका थिए । तर, भुटानले ६३ औं मिनेटमा फेरि अग्रता बढायो । एपीएफका गोलकिपर एञ्जल श्रेष्ठ अगाडि बढेको मौकामा हेमराज भुजेलले दुई डिफेन्डरलाई बिट गरी गरेको गोलमा भुटानी टिम ३–१ को अवस्थामा पुग्यो ।
इन्ज्युरी समयमा एपीएफले पेनाल्टी अवसर पायो । भुटानका जम्सो तेन्जिङले विपिन श्रेष्ठलाई फाउल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिए । सुमन श्रेष्ठले पेनाल्टीमा गोल गरेर खेल ३–२ को स्थिति बनाए । प्लेयर अफ द म्याच भुटानका हेमराज भुजेल घोषित भए । उनले २१ हजार रुपैयाँ प्राप्त गरे ।
भुटानका प्रशिक्षक दोर्जी खन्डुले एपीएफविरुद्धको खेल संघर्षपूर्ण रहेको बताए । उनले सेमिफाइनलमा खेलाडी परिवर्तन गर्न सक्ने संकेत गरेका छन् । एपीएफका प्रशिक्षक मलिन राईले भने, ‘आइतरबा केपी ओली कप खेलेर आएका थकित खेलाडीहरू लिएर खेल्नुपर्दा टोलीको प्रदर्शन प्रभावित भएको हो ।’ एन्फाले प्रतियोगिताको तालिका जुधाउँदा खेलाडीले पर्याप्त आराम गर्ने समय नपाएको जनाए । मंगलबार पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बजार प्रगति संघ भिड्नेछ ।
