काठमाडौँ — विभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लबले सोमबार पुलिस क्लबलाई २–० ले पराजित गर्दै केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । सोमबार अर्को खेलमा विजयी रहेर आयोजक केपी ओली एफसी पनि अन्तिम चारमा पुगेको छ ।
आर्मीको जितमा नवयुगले १९ औं मिनेटमा पहिलो गोल गरे । खेलको ८१ औं मिनेटमा दिनेशले अर्को गोल थपेका थिए । दिनको पहिलो खेलमा केपी ओली एफसीले एनआरटीलाई १–० ले पराजित गरेको हो । त्यसमा निर्णायक गोल सुरजज्यू ठकुरीले गरेका थिए । उनले ६३ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
उनले यसका लागि पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारले सिधा बाटो लिँदै गोलमा परिणत भएको थियो । ओली एफसीले फाइनल प्रवेशका लागि मछिन्द्र वा भुटानको ट्रान्सफोर्ड युनाइटेडबीच हुने खेलको विजेताको सामना गर्नेछ । आर्मीले भने अर्को सेमिफाइनलमा संकटा र एपीएफबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
