काठमाडौँ — सिजनको पाँचौं प्रतियोगिताका रूपमा मंगलबारदेखि सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने च्याम्पियनसिप चार दिनसम्म चल्नेछ र ७२ होलको हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्ने बताए । सूर्य नेपाल गल्फ टुर २०२४–२५ मा कुल आठ प्रतियोगिता हुनेछ ।
प्रतिस्पर्धामा ३० प्रोफेसनल र १० एमेच्योर गल्फरले दाबेदारी प्रस्तुत गर्नेछन् । नेपाल नम्बर एक प्रो गल्फर भुवन नगरकोटीसँगै नीरज तामाङ, रवि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामालाई प्रमुख दाबेदारमा हेरिएको छ ।
उनीहरूलाई एमेच्यार नम्बर वान गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले कडा चुनौती दिनेछन् । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । शीर्ष २१ खेलाडीले बाँकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन् ।
