बुटवलमा ३ लाख ३ हजार पुरस्कार राशीको राष्ट्रिय स्नुकर प्रतियोगिता सुरु

फाल्गुन १२, २०८१

सन्जु पौडेल

National snooker tournament with 3 lakh 3 thousand prize money started in Butwal

तिलोत्तमा — बुटवलमा सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप प्रतियोगिताको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको हबको रूपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी गरेको बताए ।

नेपाल विलियर्डस् स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले काठमाडौंमा मात्रै हुँदै आएको राष्ट्रिय स्तरको प्रतियोगिता पछिल्लो समय बुटवल लगायतका ठाउँमा पनि सुरु भएकाले भन्दै यो प्रतियोगिताले स्नुकर खेलको उचाइ थप माथि पुर्‍याउने बताए ।

प्रतियोगितामा देशका प्रमुख सहरबाट १ सय २८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । फागुन २१ सम्म चल्ने प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैयाँ र 'हायस्ट ब्रेकर'ले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने नेपाल बिलियर्डस् स्नुकर तथा पुल संघ रूपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।

सेमिफाइनलमा पुग्ने खेलाडीलाई नगद ३०/३० हजार , राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने उनले बताए । 'हालसम्मकै प्रतियोगितामा यो सर्वाधिक राशी भएकाले महत्व धेरै छ,' उनले भने, 'बुटवलले स्नुकर खेललाई उचाइमा पुर्‍याउन सघाउने विश्वास छ ।'

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully